मैना सुनुवारका हत्यारालाई सजाय रोक्न सेनाको चलखेल
काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित भएका पत्रपत्रिकाहरु ले फर फरक विषयका समाचारलाई प्राथमिकता दिएर समाचार प्रकाशन गरेका छन् । कान्तिपुर दैनिकमा अदालतमा सेनाको ‘अनाधिकृत प्रवेश’ शीर्षकमा मुख्य समाचार छापिएको छ । समाचार अनुसार फौजदारी कसुरमा दोषी ठहरिएकालाई समेत कारबाही फिर्ता गर्न नेपाली सेनाले रिट निवेदन दिन पाउने नागरिक अधिकार दुरुपयोग गरेको भेटिएको छ ।
मैना सुनुवार हत्याकाण्डका दोषीलाई जिल्ला अदालत काभ्रेले दिएको सजायमा रोक लगाउने मनसायले सेनाले कानुनमै नभएको अधिकार क्षेत्र प्रयोग गरी सर्वोच्चमा रिट दायर गरेको पाइएको हो । कान्तिपुरले यस प्रकरणमा सेनाले सुरुदेखि नै दोषीलाई सैनिक ऐन अनुसार कारबाही गर्न इन्कार गर्दै नियमित फौजदारी कारबाहीलाई समेत अवरोध गरिरहेको उल्लेख गरेको छ ।
नागरिक दैनिकले ‘नेकपामा गुट अदलबदल’ शीर्षकमा प्रधानमन्त्री केपी ओली स्वदेश फर्किंदा नेताहरु स्वागत गर्न गएको दृश्य राख्दै प्रमुख समाचार छापेको छ । समाचारमा पार्टीका सचिवालय सदस्य वामदेव गौतमले प्रधानमन्त्रीलाई स्वागत गरेको विषयलाई गुट फेरबदलसँग जोडेर समाचार बनाइएको छ । प्रधानमन्त्रीलाई स्वागत गर्न नेता गौतमसहित महासचिव विष्णु पौडेललगायतका नेताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।