९ सय ३७ को कैद–जरिवाना भुक्तान भएन
भक्तपुर । भक्तपुर जिल्ला अदालतबाट ९ सय ३७ जनाको कैद तथा जरिवाना भूक्तान हुन बाँकी रहेको पाइएको छ । जिल्ला अदालत भक्तपुरले शुक्रबार आयोजना गरेको फैसला कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा ९ सय ३७ जनाले ४ सय २६ वर्ष ४ दिन कैद भुक्तान गर्न बाँकी रहेको र उनीहरुबाट २३ करोड ६ लाख ५६ हजार जरिवाना असुल गर्न बाँकी रहेको जानकारी दिइयो ।
जिल्ला अदालत भक्तपुरका अनुसार जिल्लाका ४ नगरपालिकाका ४ सय ४८ जना व्यक्तिबाट १ सय ६२ वर्ष १० महिना १२ दिन कैद भुक्तान र २२ करोड ४६ लाख ६८ हजार रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको छ ।अदालतले भक्तपुर जिल्ला बाहेक काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप र सिन्धुपाल्चोक जिल्लाका १ सय १९ जनाको लगत सम्बन्धित जिल्लामा संकलन गर्न पठाइएको अदालतका स्रेष्तेदार घनेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
अदालतले आब २०७५/०७६ मा ६२.४२ प्रतिशत फैसला कार्यान्वयन गरेको जनाएको छ । अदालतका तहसिलदार सघन अधिकारीले २०७५/०७६ मा ३२.३१ प्रतिशत कैद फछ्र्यौट र १४.४२ प्रतिशत जरिवाना फछ्र्यौट गरेको जानकारी दिनुभयो । भक्तपुर अदालतले २०७५/०७६ मा ३ सय १९ जनाको १ सय ९१ वर्ष ५ महिना १६ दिन कैद फछ्र्यौट गरेको र उनीहरुबाट ३ करोड ३ करोड ८७ लाख ९४ हजार ६ सय ४० रुपैयाँ जरिवाना गरिएको तहसिलदार अधिकारीले बताउनुभयो ।
भक्तपुर अदालतका प्रमुख न्यायाधीश जगतमान प्रधानको सभापतित्वमा सम्पन्न फैसला कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाले अदालतले गरेका फैसला कार्यान्वयनका लागि स्थानीय सरकार, नागरिक, जिल्ला प्रशासन र प्रहरीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।