आइफोनको ट्रिपल क्यामरासँग किन डराउँदै छन् केही मानिस ?
हुन त आफ्ना प्रोडक्टको गज्जब डिजाइनका लागि एप्पल अग्रस्थानमै छ । हालै लञ्च भएको नयाँ आइफोन ११ को डिजाइन तथा लुक्स पनि निकै आकर्षक रहेको छ ।
तर केही मानिसहरुलाई आइफोन ११ मा राखिएका ट्रिपल क्यामराको डिजाइन खासै रुचेको छैन । आइफोनको ट्रिपल क्यामरा सेटअप मन नपराउने मध्ये अधिकांश मानिस ट्राइपोफोयिबा नामक रोगबाट ग्रसित रहेका छन् ।
वास्तवमा ट्राइपो फोबिया एक प्रकारको डर हो । जसमा स–साना छिद्र तथा आयातले बनेका ज्यामितीय प्याटर्न अर्थात् ढाँचासँग मानिसलाई डर लाग्दछ ।
यही कारण आइफोन ११ को ट्रिपल क्यामराको डिजाइनले पनि केही मानिसलाई समस्यामा पारिरहेको छ ।
ट्राइपोफोबियाको सबैभन्दा गतिलो उदाहरण कमलको फूलसँग लाग्ने डर हो । कतिपय मानिसहरु कमलको फूलमा हुने स साना छिद्रहरु जुन खास प्याटर्नमा हुन्छन्, त्यससँग डराउँछन् । छिद्रको त्यो प्याटर्नले ट्राइपोफोबियाबाट पीडित मानिसलाई समस्यामा पार्दछ ।
त्यस्तै केही मानिसहरुलाई माहुरीको चाकाका प्वालहरुको प्याटर्नसँग पनि डर लाग्दछ ।
प्राध्यापक अर्नोल्ड विल्किंस तथा डाक्टर जिओफ कोल एसेक्स युनिभर्सिटीमा शोधकर्ता हुन् । उनीहरुका अनुसार कुनै खास प्याटर्नसँग डराउनु वा मन नपर्नु हाम्रो सरीरको एक खाले रक्षात्मक प्रतिक्रिया हो ।
कतिपय मानिसहरुलाई यस्तै प्याटर्नयुक्त शरीर भएका माकुरा, सर्प तथा विच्छी देख्दा पनि डर लाग्दछ । खतरनाक जनावर मात्र होइन उनीहरुलाई यस्तै प्याटर्नयुक्त सामान्य चिजहरू देख्दा पनि डर पैदा हुन्छ ।
यद्यपि, यस्तो डरलाई चिकित्सकीय हिसाबले पहिचान गर्न सकिँदैन र यसलाई प्याटर्न फोबिया पनि भनिन्छ ।
यो पटक लञ्च भएका आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्सको सबैभन्दा विशेष फिचर भनेकै यसको ट्रिपल क्यामरा हो । यी क्यामराबाट एकैपटकमा धेरै भिडियोहरु खिच्न सकिन्छ । आइफोन ११ को प्रो मोडेलमा टेलिफोटो, वाइड तथा अल्ट्रावाइड क्यामरा पनि रहेको छ । यसका साथै यसमा नाइड मोडकाा लागि अलग्गै अप्सन छ, जसको सहयोगले कम प्रकाशमा पनि राम्रो तस्वीर खिच्न सकिन्छ ।
तर आइफोन ११ का यी तमाम गज्जब फिचरहरु केही मान्छेका लागि डरलाग्दो सपना जस्तै छन् । जो मानिसहरु छिद्रको प्याटर्नसँग डराउँदछन् अर्थात् ट्राइपोफोबियाबाट ग्रसित छन् ।यी मानिसहरुलाई आइफोनको ट्रिपल क्यामरा डिजाइन देखेर वान्ता आउला जस्तो हुने गरेको तथा मुटुको धड्कन बढ्नुका साथै रिंगटा समेत लाग्ने गरेको छ ।
यही कारण केही मानिसहरुले आइफोन ११ खरीद नगर्ने फैसला गरेका छन् । सोसल मिडियामा यस विषयमा धेरै मानिसहरुले प्रतिक्रिया दिइरहेका छन् र नयाँ आइफोनको ब्याक साइडमा रहेका तीनवटा क्यामरा देख्दा आफुलाई अप्ठेरो महसुस हुने गरेको बताइरहेका छन् । कतिपय मानिसहरुले त आइफोन ११ यस्तो हुँदा आइफोन १५ आउँदा कस्तो होला ? भनी काल्पनिक तस्वीरहरु पनि ट्वीटरमा पोष्ट गरेका छन् जसमा आइफोनको पछाडिको भागमा क्यामरै क्यामरा रहेका छन् ।आइफोनका अघिल्ला डिजाइनहरुमा एकमात्र ब्याक क्यामरा रहेकोमा पछिल्ला आइफोनमा खास ढाँचामा राखिएका तीनवटा ब्याक क्यामरा हुँदा ट्राइपोफोबियाग्रस्त मानिसहरु अप्ठेरोमा परेका हुन् । नयाँ आइफोनमा ट्रिपल क्यामरा डिजाइन गर्ने बेलामा एप्पलले सायद आफ्ना प्रयोगकर्ताले यस्तो समस्या भोग्नुपर्ला भनेर सोँचेको थिएन ।
विज्ञका अनुसार हामीहरु सबैजना कुनै न कुनै किसिमको तथा स्तरको ट्राइपोफोबियाको सिकार हुन्छौँ । हामीले त्यसलाई कति सहन गर्न सक्दछौँ भन्ने कुरामा हाम्रो डर निर्भर गर्दछ ।