आर्थिक अभावका कारण रामबहादुरले दुई सन्तानको उपचार गराउन सकेनन्
अर्घाखाँची, असोज ७ । आर्थिक अभावका कारण अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर–४ का रामबहादुर सुनारले आफ्ना दुई सन्तानलाई उपचार गराउन पाएका छैनन् ।
‘ब्लड क्यान्सर’को उपचार गराउन नसकेर गत वर्ष पाँचवर्षीय छोरा गुमाएका अर्घाखाँची, छत्रदेव गाउँपालिका–४ का रामबहादुर सुनारलाई अहिले अर्को बज्रपात परेको छ ।
उनका दुई छोरीमध्ये एकजनालाई मुटुरोग लागेको छ भने अर्की क्यान्सरबाट पीडित छन् । सुनारले आर्थिक अभावका कारण दुवै छोरीको उपचार गराउन सकिरहेका छैनन् ।मजदुरी गरेर बिहान–बेलुकाको जसोतसो छाक टार्ने उनले छोरीहरुको उपचार गराउनसक्ने अवस्था नभएको गुनासो गर्छन् ।उमेरले ४१ वर्ष लागेका रामबहादुरले कतैबाट सहयोग रकम जुट्छ कि भनेर प्रयास गरिरहेका छन् । तर, अहिलेसम्म कतैबाट सहयोग नपाएको उनको गुनासो छ ।
डाक्टरहरुले क्यान्सर लागेकी छोरीलाई भरतपुर क्यान्सर अस्पताल र मुटुरोगबाट पीडित छोरीलाई काठमाडौँको गंगालाल अस्पताल लैजान सुझाएका छन् । तर, पैसा नभएपछि बिरामी छोरीलाई हेर्दै भक्कानिनुको विकल्प उनले भेटेका छैनन् ।
उपचार गराउनु त परको कुरा आफूसँग अस्पतालसम्म पुग्ने रकम पनि नभएको उनको गुनासो छ ।उपचार नपाएर छोरा गुमाउनुपरे पनि छोरीलाई बचाउन पाए हुन्थ्यो भन्ने उनको चाहना छ ।बिरामी छोरीलाई घरमा राखेको उनको परिवारले देश–विदेशमा रहेका दाजुभाइ, दिदीबहिनीबाट सहयोगको याचना गरिरहेको छ ।