Connect with us
Kapilvast Forest

पोषणको अवस्था सुधार ल्याउन जुम्लामा पोषण विज्ञान अध्ययन हुने

२०७६, १५ आश्विन बुधबारमा प्रकाशित

काठमाडौं– मुख्यतः कर्णाली प्रदेशको समग्र पोषणस्थितिलाई सुधार ल्याउन आवश्यक शैक्षिक जनशक्ति उत्पादन गर्ने ध्येयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातक तहमा शैक्षिक कार्यक्रम शुरुआत गर्ने भएको छ । आगामी वर्षदेखि चारवर्षे पोषण विज्ञान आहार (क्लिनिकल न्युट्रिसन डाइटेटिक्स) कार्यक्रम सञ्चालनको अन्तिम तयारीमा प्रतिष्ठान जुटेको छ ।

त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका केही क्याम्पसमा मात्र सो तहमा अध्ययन अध्यापन हुने गर्दछ । आठ सेमेष्टर सो तहको पठनपाठन हुनेछ । सो कार्यक्रमका साथमा प्रतिष्ठानले आगामी वर्षदेखि नै दुईवर्षे स्नाकोत्तर तहमा इपिमिडियोलोजी विषयको शैक्षिक कार्यक्रम चार सेमेष्टरमा सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रतिष्ठानद्वारा ती दुई अलगअलग विषयको अन्तिम पाठ्यक्रम निर्माणसम्बन्धी आज यहाँ आयोजित कार्यशालामा ती विषयको अध्ययन अध्यापनले समग्र कर्णालीको स्वास्थ्य स्थितिलाई माथि उकास्ने विश्वास गरिएको छ । कति सिटमा पठनपाठन हुने पछि तय हुने जनाइएको छ । हाल प्रतिष्ठानले नर्सिङका प्रमाणपत्र र स्नातक तह, स्नातक तहको मिडवाइ फ्रि, स्वास्थ्य र बेहोस पार्ने (ऐनेस्थसिया) सहायक अध्ययन अध्यापन गराइरहेको छ । नर्सिङको प्रमाणपत्रतर्फ स्थानीय १०० जनशक्ति उत्पादन भइसकेको छ । शैक्षिकसत्र विसं २०७५/०७६ देखि स्नातक तहको जनस्वास्थ्य विषयमा अध्यापन शुरुआत भएको छ ।

चिकित्सा विज्ञानअन्तर्गतको एमडिजिपी तथा एमबीबीएस तहका पठनपाठन शुरुआतको अन्तिम तयारीमा प्रतिष्ठान जुटेको छ । विशेषज्ञ उत्पादन गर्ने एमडिजिपी तहको पठनपाठनको सबै तयारी पूरा गरेर पनि राष्ट्रिय चिकित्सा आयोगले यस वर्ष अनुमति/स्वीकृति रोकिदिएको थियो । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्राध्यापक चिकित्सक राजेन्द्र वाग्लेले प्रतिष्ठानले शैक्षिक कार्यक्रम, स्वास्थ्य सेवा र अनुसन्धान तीनै विधामा समानरुपमा काम गरेको जानकारी दिँदै चिकित्सा विज्ञानका नयाँनयाँ विषयको पठनपाठनले कर्णाली प्रदेश तथा समग्र देशका लागि आवश्यक जनशक्ति उत्पादन हुने जानकारी दिए ।

रजिष्ट्रार विश्वराज काफ्लेले कर्णाली प्रदेशको समग्र पोषणको स्थितिलाई सुधार गर्न तथा पब्लिक, क्लिनिकल र मेडिकल हेल्थका विधालाई समेट्ने गरी एमएस्सी तहको इपिमिडियोलोजी र क्लिनिकल न्युट्रिसन डाइटेटिक्स नयाँ विषयमा पठनपाठन गर्न लागेको बताए । प्रतिष्ठानका स्त्रीरोग विभागका प्रमुख प्रा डा.किरण रेग्मीले चिकित्सा विज्ञानअन्तर्गतको एमडिजिपी तथा एमबीबीएस तहका पठनपाठनको शुरुआत गराउन जनशक्ति, पूर्वाधारका दृष्टिले प्रतिष्ठानसक्षम रहेको जानकारी दिँदै अनुमति/स्वीकृति पत्रको पर्खाइमा रहेको बताए ।

नर्सिङ विभागका प्रमुख सरस्वती गौतमले जनस्वास्थ्यको समस्यालाई सम्बोधन गर्न स्वास्थ्य सेवा, अनुसन्धान र जनशक्ति उत्पादन दुवैमा प्रतिष्ठानले प्राथमिकता दिएको जानकारी दिए । संयुक्त राष्ट्र सङ्घीय बालकोषका पोषण विज्ञ चिकित्सक नवीन पौडेलले पोषणको अवस्थामा सुधार ल्याउन जनशक्ति उत्पादनमा ध्यान दिन जरुरी रहेको बतए ।

विशेषतः जुम्ला, हुम्ला, कालीकोट, मुगु, डोल्पा, अछाम, जाजरकोट, बझाङ र बाजुरा जिल्लाको स्वास्थ्यस्थित माथि उकास्न सरकारले ठूलो लगानीका साथ विसं २०६८ मा जुम्लामा सो प्रतिष्ठान स्थापना गरेको थियो । प्रतिष्ठानले एक वर्ष अर्थात् विसं २०६९ कात्तिक २३ गते एक जना विशेषज्ञसहित पाँच जना चिकित्सक तत्कालीन कर्णाली अञ्चल अस्पताल जुम्ला पु¥याई सेवा शुरुआत गरेको थियो ।

विसं २०७० मा सो अञ्चल अस्पताल प्रतिष्ठानमा गाभिन पुगेको थियो । गाभिँदा १०० श्ययाको अस्पताल हाल ३०० श्यया विस्तार हुन पुगेको छ । अस्पतालले पछिल्लो समय आफ्नै फार्मेसी, रक्तसञ्चार सेवा तथा अक्सिन प्लान्टसमेत सञ्चालनमा ल्याइसकेको छ । दैनिक २०० सम्म अन्तरङ्ग र बहिरङ सेवा लिने सो अस्पतालमा तीन श्यया आइसियु रहेका छन् ।

पछिल्लो समय प्रतिष्ठानमा सेवा लिन आएका बिरामीलाई अन्यत्र रिफर नगर्ने अवस्थामा पुगेका जनाइएको छ । प्रतिष्ठानमा निकट भविष्यमा सिटी स्क्यान उपकरण सेवा तथा नाक, कान र घाँटी विशेषज्ञ सेवा शुरु हुने प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले जानकारी दिए ।

विसं २०७४ असोज २६ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्रतिष्ठानको पाँचौँ सिनेट बैठकले प्रतिष्ठानको शैक्षिक कार्यक्रम तथा भौतिक निर्माणसम्बन्धी गुरुयोजना पारित गरेको थियो । हाल प्रतिष्ठानमा (जुम्ला अस्पताल) प्रायः नेपालबाट नै मेडिकल शिक्षा अध्ययन पूरा गरेका युवा चिकित्सक कार्यरत छन् । ती चिकित्सकले कर्णाली प्रदेशका दुर्गम गाउँमा गई घुम्ती शिविरमार्फत हालसम्म ३० हजारको उपचार गरिसकेका छन् ।

गत वर्ष अस्पतालबाट ३९ हजार ९४२ बिरामीले सेवा लिएका थिए । तीमध्ये चार हजार ३४७ जना आकस्मिक उपचार सेवा, दुई हजार ५९१ जना भर्ना तथा ४६९ जनाको मुख्य (मेजर), ५७२ गभर्वती आमाले बच्चा जन्माएका थिए । तीमध्ये १०२ आमाको मात्र शल्यक्रिया गर्नुपरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu