Connect with us
Kapilvast Forest

आज दशैंको सातौं दिन, घरघरमा फूलपाती भित्राइँदै

२०७६, १८ आश्विन शनिबारमा प्रकाशित

१८ असोज, काठमाडौं । आज नवरात्रिको सातौं दिन अर्थात् फूलपाती, दशैंको खास दिन आजैबाट शुभारम्भ हुन्छ । फूलपातीको दिनदेखि सरकारी कार्यालयहरु सार्वजनिक विदा हुने भएकाले दशैंको टीका थाप्न आ-आफ्नो घर फर्किने क्रम आजैबाट बढेको छ ।

घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा आज अपराह्न विधिपूर्वक फूलपाती भित्राइन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ ।

‘फूलपाती भित्राउन साइत हेर्नु पर्दैन’

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकको रुपमा भित्राइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

‘केरामा ब्रहृमाणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्,’ उनले भने । देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ ।

फूलपाती भित्राएपछि नौ वटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्राउनका लागि साइतको आवश्यकता नपर्ने पनि प्रा. डा. गौतम बताउँछन् ।

हनुमानढोकामा ३ बजे फूलपाती भित्राइँदै

काठमाडौंको हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्राउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राहृमण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ । राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्राउने क्रममा राज्य प्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकोमा गणतन्त्रको स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार संग्रहालय विकास समितिले जनाएको छ ।

यस वर्षको फूलपाती शनिबार अपराहृन ३ बजे भित्राइने कार्यक्रम रहेको दशैँ पर्वको संयोजन गरिरहेका समितिका कर्मचारी मिठाराम पुडासैनीले बताए । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, काठमाडौंका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई निमन्त्रणा गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ ।

आश्विन शुक्ल सप्तमीको दिनदेखि नै शक्तिपीठहरुमा पूजा गर्नेहरुको घुइँचो थप बढ्ने गर्दछ । नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक-फरक स्वरुपमा पूजा आराधना गरिन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu