बालयौन दुराचारको अखडा बन्दै नेपाल
कान्तिपुर दैनिकले ‘बालयौन दुराचारीको दृष्टि नेपालतिर’ शीर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ । समाचार अनुसार पश्चिमा मुलुकका बालयौन दुराचारीहरुले नेपालमा जथाभावी खुलेका बालगृह, कमजोर कानुन र न्यायिक प्रणालीको फाइदा उठाउने गरेको पाइएको छ । यो तथ्यलाई पछिल्लो दुई तीन वर्षभित्र पक्राउ परेकाहरुमाथिको अनुसन्धानले पनि यसको पुष्टि गर्छ ।
कान्तिपुरले बालयौन दुराचारमा मुछिएका क्यानेडेली नागरिक पिटर डलग्सिसदेखि २०७५ माघ ५ मा कालीमाटीको एक ‘अपार्टमेन्ट’ बाट पक्राउ परेका बेलायती नागरिक इयान रोर्बोट कोललगायतका उदाहरण प्रस्तुत गर्दै विदेशीहरु बालबालिकालाई सहयोग गर्ने नाममा यौन दुराचारको अपराध गर्र्न काठमाडौं छिर्ने गरेको अनुसन्धानबाट खुल्दै आएको उल्लेख गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार ०७३ /७४ देखि ०७५ /०७६ सम्म दुई वर्षमा नेपालमा १२ विदेशी सहयोगी बालयौन दुराचारको अभियोगमा पक्राउ परेका थिए । उनीहरुबाट मात्रै ३३ जना बालबालिका पीडित भएको अनुसन्धानमा खुलेको थियो ।
गोरखापत्र दैनिकमा रौतहट बमकाण्डबारे निलम्बित सांसद आफताब आलम जेल चलान भएको शीर्ष समाचार बनाएको छ । नेपाली कांग्रेसका निलम्बित सांसद आलमलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । जिल्ला अदातलमा शुक्रबार भएको थुनछेकपछि अदालतले आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
रौतहट बमकाण्ड र हत्याको अभियोगमा पक्राउ परेका आलमलाई जिल्ला न्यायाधीश दीपक ढकालको चार नम्बर इजलासमा आलम पक्षका एकजना वरिष्ठ अधिवक्तासहित पाँचजना अधिवक्ताले शुक्रवार बहस गरेका थिए । त्यस्तै कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थसम्बन्धी गरी आलममाथि तीनवटा मुद्दा दर्ता गरी सरकारी वकिल खडिन्द्रराज कटुवालमार्फत ३२ वर्षको कैद सजायको मागसहित प्रहरीले जिल्ला अदालतमा प्रतिवेदन तथा अभियोगपत्र दर्ता गरेको छ ।