भैरहवा–लुम्बिनी सडक निर्माण सुस्त
रुपन्देही । रुपन्देहीको भैरहवाबाट गौतमबुद्धको जन्मस्थल लुम्बिनी हुँदै तौलिहवा जोड्ने निर्माणाधीन सडक आयोजनाको काम सुस्त भएको छ ।
शुरुमा छिटो गतिमा निर्माण कार्य अगाडि बढाएर चर्चा कमाएको भारतीय निर्माण कम्पनी गावर कन्स्ट्रक्सन गुडगाव हरियाणाले पछिल्लो समय सडक निर्माणलाई सुस्त गतिमा अगाडि बढाएको हो ।
रुपन्देहीको भैरहवाबाट लुम्बिनी हँुदै तौलिहवा जोड्ने निर्माणाधीन ४४ किलोमिटरको सडक बुद्धचोकदेखि विमानस्थलसम्म ६ लेन, विमानस्थलदेखि लुम्बिनीसम्म चार लेन र लुम्बिनीदेखि तौलिहवासम्म दुई लेनको सडक निर्माण गर्ने योजना अनुसार निर्माण भइरहेको छ । सडकलाई पुस महिनासम्म निर्माण सम्पन्न हुने गरी भारतीय निर्माण कम्पनी गावर कन्स्ट्रक्सन गुडगाव हरियाणासँग २०७३ असार ३० मा ठेक्का सम्झौता भएको थियो । सडक निर्माणले तीव्रता नपाउँदा दुर्घटनाको जोखिम बढ्दै गएको छ । धुलो धुवाँले मोटरसाइकल चालकदेखि पैदल यात्रु आजित भएका छन् ।
३० महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको यस आयोजनाको म्याद आउँदो पुससम्म रहेको छ । तर हालसम्म जम्मा ५० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।
तोकिएको अवधिमा काम नसकिनुमा ठेकेदार कम्पनीको प्लानिङमा पनि कमजोरी रहेको र निर्माण सामग्रीको अभाव झेल्नुपरेको सडक आयोजनाको भनाइ छ ।
एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण थालिएको सडक आयोजनाको शुरुको ठेक्का रकम १ अर्ब ९३ करोड रुपैयाँ थियो तर पछि ठेकेदार कम्पनीको दबाबमा डिजाइन परिवर्तन गर्दा आयोजनाको लागत बढेर २ अर्ब ९ करोड ८ लाख रुपैयाँ पुगेको जनाइएको छ ।