विप्लवको बम पड्काउने योजना असफल, ९ कार्यकर्ता पक्राउ
धरान । चन्दा आतंक मच्चाउने नेत्रबिक्रम चन्द विप्लवका ९ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार धरानको भानुचोक र धरान १५ स्थित निराजन वस्तीबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
मंसिर १४ गतेको उपनिर्वाचनमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको विशेष टोलीले चन्दा आतंक मच्चाउने विप्लवका कार्यकर्तालाई पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेमा रमेश ढकाल, दिपेन्द्र राई, उदिप रसाइली, संजेश राई, प्रविण राई, उमेश राई, पदम राई, महेन्द्र राई र सुवास राई रहेका छन्
प्रहरीले उनीहरुको साथबाट नयाँ २.५ लिटरको प्रेसर कुकर एक थानसहित आर्थिक सहयोगको रसीद २ थान, मोवाइल सेट १० थान र सिम १२ थान वरामद गरेको छ । त्यसैगरि उनीहरुको साथबाट १ लाख १२ हजार ५ सय, डायरी एक थान र मोटरसाइकल २ थान पनि वरामद भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
शुरुमा पक्राउ परेका पुर्ववाइसिएल नेता रमेश ढकालको वयानको आधारमा धरान १५ का वडाध्यक्ष नरेश इवाराम लिम्बुको घरमा डेरा गरी बस्ने थप ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार विप्लव कार्यकर्ताहरुले पोखरासँगै धरानमा पनि निर्वाचन लक्षित बम पड्काउने तयारी गरेको थियो ।
पोखरा र धरानमा एकै दिन पड्काउने उनीहरुको योजना असफल पारेको रमेश ढकालको वयानपछि प्रहरीस्रोतले जानकारी दिएको हो ।
विप्लवका कार्यकर्ताहरुले स्थानीय व्यवसायी तथा विभिन्न मानिसहरुसँग ठुलो रकम चन्दा माग गर्ने सूचना आएपछि प्रहरी गोप्यरुपमा परिचालन भएको थियो ।