नगर शिक्षा समितिको बैठक नबस्दा शिक्षकले तलब पाएनन्
गौशाला– गौशाला नगरपालिकाको नगर शिक्षा समितिको बैठक नियमितरूपमा नबस्दा यहाँका ३४ शिक्षकले महिनौदेखि तलब पाउन सकेका छैनन् ।गौशाला नगरपालिकामा गठन भएको नगर शिक्षा समितिको बैठक पाँच महिनादेखि नबस्दा यहाँका ३२ सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तलबबाट बञ्चित भएका छन ।
नगरको अनुदानमार्फत यहाँका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले वैशाखदेखि तलब पाउन नसकेको नेपाल शिक्षक महासङ्घका उपाध्यक्ष सुनिताकुमारी महतोले जानकारी दिए ।
गत वर्ष शिक्षकलाई तलबवापत नगरपालिकाले रु ५३ लाख छुट्याएको थियो । यस वर्षदेखि सोही शीर्षकमा रु ६० लाख छुट्याएकाले समयमै रकम मिलान हुन सकेको छैन
जनही रु १२ हजारका दरले मासिक तलब पाउँदै आएका शिक्षकलाई यस वर्षदेखि केही थप रकम जोडेर दिने नगरपालिका शिक्षा शाखाको योजना रहेको र सो सम्बन्धमा शिक्षा समितिबाट निर्णय गराउन बाँकी रहेकाले शिक्षकलाई समयमै तलब खुवाउन नसकिएको नगर शिक्षा शाखाका पुरुषोत्तम अधिकारीले जानकारी दिए ।