काठमाडौंमा आज वर्षकै कम तापक्रम
काठमाडौं-
काठमाडौं उपत्यकाको तापक्रम आज बर्षकै कम मापन गरिएको छ ।शुक्रबार बिहान उपत्यकाको न्युनतम तापक्रम सात डिग्री सेल्सियस मापन भएको छ। बिहीबार न्युनतम तापक्रम ७ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार शुक्रबार बिहान काठमाडौं उपत्यकामा यस वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ।
बुधबार ८ दशमलब ७ डिग्री सेल्सियस थियो। दिनहुँ तापक्रम घट्दै जाँदा चिसो बढेको महसुस भइरहेको छ। देशको पश्चिमी भेगको मौसममा केही दिनदेखि असर पारिरहेको पश्चिमी वायुको प्रभाव शुक्रबार बेलुकीदेखि कमजोर हुँदै जाने महाशाखाले जनाएको छ। दिउँसोपख पश्चिम पहाडका एक÷दुई स्थानमा हल्का पानी पर्ने मौसमविद अर्यालले बताए।
पश्चिमी भेगका उच्च पहाडी र हिमाली भेगमा हिमपातको पनि सम्भावना छ। पश्चिमी वायुको प्रभाव बिस्तारै कमजोर हुँदै जाने भएकाले शनिबारदेखि भने पश्चिमी भेगको मौसम सफा हुने सम्भावना रहेको अर्यालले बताए।