प्रधानमन्त्री ओली अझै एकसाता अस्पतालमै रहनुहुने
काठमाडौं । शिक्षण अस्पताल महारजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली अझै एकसाता अस्पतालमै रहने चिकित्सकले जानकारी दिएका छन् ।
शुक्रबार बिहान पत्रकार सम्मेलन गरी उपचारमा संलग्न चिकित्सकले प्रधानमन्त्री दश दिनपछि नियमित काममा फर्कन सक्ने जानकारी दिएका हुन् ।
त्यस्तै चिकित्सकले एपेन्डिसाइटिस्को शल्यक्रियापछि सघनकक्षमा उपचाररत प्रधानमन्त्री ओलीको मंगलबार र बुधबार दुईपटक डायलाइसिस् गरिएको पनि जनाएका छन् । पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहले प्रधानमन्त्रीलाई मुखबाट ठोस खानेकुरा खुवाउन थालिएको जानकारी दिनुभयो । प्रधानमन्त्री ओली समान्य हिंडडुल गर्न थालेको डा. सिंहको भनाइ छ ।
उपचारमा संलग्न विशेषज्ञ चिकित्सकहरुले प्रधानमन्त्रीको एपेन्टिडसाइटिस् फुटेको नभई पाकेर फैलिएको बताएका छन् । सामान्य बिरामीको तुलनामा अंग प्रत्यारोपण गरिएको बिरामीमा एपेन्डिसाइटिस् पाकेर फैलने सम्भावना बढी हुने जानकारी चिकित्सकहरुले दिए । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएको छ । पछिल्लो पटक ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलाइसिस् गरिँदै आएको थियो ।अहिले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमै डायलाइसिस् गरिएको छ ।