विवाहपञ्चमी महोत्सव : जनकपुरमा मटकोर उत्सव मनाइँदै
जनकपुरधाम, १४ मंसिर । जनकपुरमा जारी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज मटकोर उत्सव मनाइँदैछ ।
जनकपुरको ऐतिहासिक गंगासागर तलाउमा मटकोर मनाइँदैछ । मैथिली परम्परा अनुसार विवाहको पूर्वसँध्यामा वर र वधु दुवै पक्षले आ–आफ्नो स्थानमा भव्य समारोहको आयोजना गरी वर–वधुलाई माटोको पूजा गर्न लगाउने चलन छ ।
बाजागाजासाथ नजिकको तलाउ अथवा जलासयमा पुगेर पानीभित्रको माटो झिकेर पुजा गरिन्छ । मधेशमा हुने सामाजिक विवाह कार्यक्रममा पनि मटकोरलाई उत्सवको रुपमा मनाइन्छ । गाउँभरका महिलाले ठूलो स्वरमा बाजा बजाएर नाच्दै जलासय नजिक पुगेर मटकोर पुजा गर्ने चलन अहिले पनि मधेशी समाजमा छ ।
पानीभित्रको माटो कोरेर पुजा गर्ने हुँदा मटकोर भनिएको हो । रामजानकी विवाह महोत्सवमा यस वर्ष जनकपुरमा लाखौं श्रद्धालु जुटेका छन् । दुई दिन अगावैदेखि भारतको मुख्यतः बिहार र उत्तर प्रदेश तथा नेपालका विभिन्न जिल्लाबाट तिर्थालु, श्रद्धालुहरु जनकपुर आउने क्रम सुरु भएको थियो । आइतबार जनकपुरको रंगभूमि मैदानमा १ सय ८ जोडीले सामूहिक विवाह गर्नेछन् ।