बालिका अपहरण: प्रहरीले जाहेरी दर्ता नगरेपछि आफन्तकाे प्रदर्शन
सप्तरी । महिला हिंसा विरुद्ध १६ दिने अभियान चलिरहँदा राजविराज नगरपालिकामा एक बालिकाको अपहरण भएको छ । प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै सोमबार आफन्तले राजविराजमा प्रदर्शन गरेपछि देवेन्द्र साहकी १४ वर्षीया गौरी साह अपहरणमा परेको विषय बाहिरिएको हो ।
राजविराजस्थित गौतम शिशु सदन बोडिङ्ग स्कुल कक्षा ९ मा अध्ययरन गौरीलाई राजविराजकै ३/४ जना युवाहरुले गत शनिबार साँझ अपहरण गरेको विषयमा जाहेरी गर्न जाँदा जाहेरी दर्ता नगरेको गौरीका दाजु गोपाल साहले बताए । साहका अनुसार विकास कर्ण, जयराम यादव, रुपेन्द्र यादव लगायतका युवाहरुको संलग्नतामा गौरीको अपहरण भएको हो ।
प्रदर्शनकै क्रममा केहि युवाहरुलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक प्रकाश बस्नेतले सोमबारै जाहेरी दर्ता गरेर अनुसन्धान थालेको जानकारी दिनुभएको छ । पिडित परिवारले सोमबार मात्रै जाहेरी गर्न आएको र अपहरण नै हो भन्ने यकिन नभएपनि अनुसन्धान थालिएको उहाँको भनाइ छ ।