बलात्कारको आरोपमा नेकपाका स्थानीय नेता पक्राउ
रामेछाप – बलात्कारको आरोपमा रामेछापमा एक जना पक्राउ परेका छन् ।उमाकुण्ड गाउँपालिका कुभुकास्थलीका ४० वर्षीय संगीत सुनुवारले १३ वर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थानीय नेतासमेत रहेका सुनुवारले गाउँकै १३ वर्षीयालाई फकाई गएको मंसिर २ गते बलात्कार गरेको आरोप लागेको छ । बलात्कारपछि नेता सुनुवारले ती बालिकालाई कसैलाई पनि नभन्नु भन्दै फकाएर घर पठाएका थिए । बलात्कारपछि डराइडराई घर पुगेकी ती बालिकाले नेता सुनुवारको डरको कारण घरमा केही नभनी बसेकी थिइन् ।
पछि पुनः सुनुवारले ती बालिकालाई बोलाएर बलात्कार गर्न खोजे तर बालिका उम्केर भाग्न सफल भइन् । आफूमाथि एक पटक बलात्कार गरेको र पटक पटक बलात्कारको प्रयास गरेपछि ती बालिकाले बाध्य भएर आमालाई सबै कुरा सुनाइन् ।
घटनाको विषयमा छोरीले सबै कुरा सुनाएपछि उनकी आमाले प्रहरी चौकी बाम्तीमा उजुरी गरेकी थिइन् । वाम्ती प्रहरी चौकीले घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय रामेछापमा जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक टेकेन्द्र पौडेलको नेतृत्वमा प्रहरी परिचालन गरेको थियो । प्रहरीले सुनुवारलाई उनकै घरबाट सोमवार नियन्त्रणमा लिएर जिल्ला सदरमुकाम मन्थली ल्याएको छ ।
बालिकालाई जबर्जस्ती करणी गरेको अभियोग लागेका नेता सुनुवारको स्वास्थ्य परीक्षण गराई रामेछाप जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘स्वास्थ्य परीक्षणमा सुनुवारले बलात्कार गरेको रिर्पोट आएकाले उनलाई जबर्जस्ती करणी उद्योगअन्तर्गत मुद्दा दर्ता गरी हिरासतमा राखेर थप अनुसन्धानमा जुटेका छौँ ।’