रौतहटमा भेटिएको बम डिस्पोज
रौतहट । रौतहटको एक इँटाभट्टामा भेटिएको प्रेसर कुकर बमलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
जिल्लाको राजपुर नगरपालिका–७ स्थित चौधरी इँटाभट्टामा शनिबार बिहान ११ बजेतिर उक्त बम भेटिएको थियो । इँटाभट्टामा कार्यरत मजदुरहरुले प्लाष्टिकको झोलामा बम देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
खबर पाएलगत्तै पुगेको प्रहरी र नेपाली सेनाको टोलीले दिउँसो १ बजेतिर उक्त बमलाई निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नवीन कार्कीले बताए ।
उनका अनुसार सो स्थानमा भूमिगत समूह मधेसी नेशनल पार्टीको नाममा एउटा पर्चा भेटिएको छ । अहिले यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हिन्दी भाषामा लेखिएको पर्चामा ‘मधेशमा नेपाली अवैध शासन खारेज गर्छौं । नेपालबाट मधेश अलग नहुन्जेलसम्म यस्तो कारवाही जारी रहन्छ’ भन्ने लेखिएको प्रहरीले जनाएको छ ।
प्रवक्ता कार्कीले पर्चाको बारेमा पनि अनुसन्धान भइरहेको बताएका छन् । उनले चन्दा नदिएकाले त्रास फैलाउन पर्चा छोडेको हुनसक्ने आशंका गरेका छन् ।
इँटाभट्टाका सञ्चालक विनोदप्रताब जयसवालले केही अज्ञात व्यक्तिहरुबाट पटक–पटक चन्दाको माग गर्दै आएकोमा आफूले चन्दा नदिएकाले तर्साउनका लागि बम राखेको हुनसक्ने बताए ।