देउवाले गरे विभाग गठनको तयारी
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचित भएको दुई महिनाभित्र गठन गर्नुपर्ने केन्द्रीय विभाग कार्यकाल सकिन तीन महिना बाँकी छँदा मात्रै गठन गर्ने तयारी गर्नुभएको छ । देउवाले मंसिर २६ गतेको केन्द्रीय कार्यसमितिको बैठक अघि नै केन्द्रीय विभाग गठन, समितिहरुलाई पूर्णता र भातृ संस्थाहरुको अधिवेशन टुंगो लगाउन लाग्नुभएकाे हो ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले भने चौधौं महाधिवेशनको तयारी गर्नु पर्ने बेला विभाग गठनतिर लागेको भन्दै असन्तुष्टि जनाएका छन् । उहाँहरुलाई मनाउन देउवाले उपसभापति विमलेन्द्र निधिलाई खटाउनु भएको छ । निधिले शनिबार पौडेल निवास बोहराटारमै पुगेर देउवाको प्रस्ताव सुनाउनुभएको छ । । देउवाले संगठन, विदेश, जनसम्पर्क र प्रचार विभागसहित बहुमत आफूले राखेर अन्य विभाग पौडेललाई दिने प्रस्ताव पठाउनुभएको हो ।
त्यस्तै नेविसंघ र तरुण दलमा सभापतिसहित बहुमत सदस्य लिने उहाँको प्रस्ताव छ । संघमा सभापतिसहित पदाधिकारीमा तीन महामन्त्री राख्ने र ती मध्ये संस्थापन, पौडेल र सिटौला पक्षले एक/एक महामन्त्री लिनेबारे समेत छलफल भएको छ । निधिले विभाग, नेविसंघ र तरुण दलमा राख्ने व्यक्तिको नामावलीसमेत पौडेलसँग माग्नुभएको छ ।
पौडेलको माग ६०/४० को भागबण्डागरौं, सिटौलालाई ६० तिरै मिलाउनोस
शुरुमा विभाग गठन गर्नै नहुने पक्षमा रहेका पौडेलले देउवा जसरी पनि विभाग गठन गर्ने मनस्थितिमा रहेको बुझेपछि नेविसंघ र तरुण दलमध्ये एउटाको नेतृत्व आफ्नो पक्षलाई दिनु पर्ने तथा संगठन, विदेश, जनसम्पर्क र प्रचार विभाग मध्ये दुईवटा पाउनुपर्ने बताउनुभएकाे छ । ६०/४० को भागबण्डा गर्नु पर्ने र पूर्व महामन्त्री सिटौला पक्षलाई ६० प्रतिशत हिस्साबाटै समावेश गर्नुपर्ने उहाँको माग छ । पौडेलजीको माग मान्न सभापतिजी तयार हुनुहुन्छ, उहाँले ( पौडेलले ) उठाएका कतिपय विषयमा केन्द्रीय कार्यसमितिबाट निर्णयसमेत भइसकेको छ’ निधिले भने । निधिले एक वर्ष कार्यकाल बढाउने बारे अनौपचारिक सहमति जुटिसकेकोले पार्टीका निकायलाई सक्रिय बनाउनु पर्ने बताउनुभएकाे कान्तिपुर दैनिकमा समाचार छ ।