दशरथ रंगाशालामै प्रहरीले पत्रकारमाथि कुटपिट
काठमाडौं : १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को समापन समारोहको दिन मंगलबार रंगशाला हाताभित्रै प्रहरीले पत्रकारमाथि कुटपिट गरेका छन्। दशरथ रंगशालाको सुरक्षामा खटिएका तीनजना डिएसपीहरुले रंगशालामा उपद्रो मच्चाएका हुन्। डिएसपीहरु रुगम कुँवर, सन्तोष सिंह राठौर र राजेन्द्र धमलाले पत्रकारसहित सर्वसाधारणमाथि लाठी र लात्ती बर्साएका हुन्। सर्वसाधरणमाथि जाइ लागेका बेला फोटो खिचेको आरोपमा डिएसपी राठौरले नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंमाथि लात्ती नै बर्साएका छन्। उनीमाथि एकजना प्रहरीले पक्रिएपछि राठौरले पछाडिबाट लात्ती बर्साएका हुन्।
नेपाल र भुटानबीच हुने फुटबलको फाइनल भिडन्तको टिकटको मूल्य दोब्बर बढाएपछि सर्वसाधरण विरोधमा उत्रिएका थिए। फुटबल हेर्न रंगशाला आसपास जम्मा भएका सर्वसाधरणमाथि प्रहरीले कुटपिट गरेको थियो। विवाद चर्किँदै गएपछि प्रहरीले दर्शकलाई जथाभावी कुट्न थालेको थियो।
दर्शकलाई प्रहरीले कुटेको फोटो खिचेको भन्दै पत्रकार चापागाईंमाथि राठौरसहितले कुटपिट गरेका हुन्। पत्रकार चापागाईंलाई प्रहरीले आयोजकबाट उपलब्ध एक्रिडेसन कार्ड लगाएको अवस्थामा समातेर कुटेको हो। प्रहरीको कुटपिटबाट चापागाईंको कानबाट रगत आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ। प्रत्यक्षदर्शीका अनुसार बिहानैदेखि प्रहरी दर्शकमाथि जाइ लागेको थियो। त्यसक्रममा चापागाईंले फोटो खिचेपछि प्रहरीले मुख छाड्दै उनैलाई कुटपिट गरेका हुन्।