सडक दुर्घटना रोक्न बेवास्ता गरिएकोमा चित्रबहादुर केसीद्वारा भर्त्सना
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सडक दुर्घटना रोक्नका लागि आवश्यक कदम चाल्न सरकार र सम्बद्ध निकायको ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएको भन्दै भर्त्सना गरेका छन् ।
उनले सोमबार एक वक्तव्य जारी गरी भनेका छन्,‘‘नेपालमा बारम्बार यसरी सवारी दुर्घटना हुँदा धेरै मानिसहरुको ज्यान जाने गरेको छ । सडक, सवारी साधन वा चालकका कारणले नै त्यस प्रकारको दुर्घटना हुने गर्दछ । स्तरहीन सडकहरु छन् । पुराना र राम्रो अवस्था नभएका सवारी साधनहरु प्रयोग भइरहेका छन् । चालकका लापरबाही वा उनीहरुका कमजोरीका कारणले पनि बढी दुर्घटना हुने गर्दछ । यातायातसँग सम्बन्धित निकाय वा प्रहरीले पनि यति धेरै दुर्घटना बढेको अवस्थामा सुधार गर्ने तर्फ ध्यान दिएको पाइँदैन । हामीले बारम्बार सरकार र सम्बन्धित पक्षहरुको ध्यान आकर्षण गराएका छौं । तैपनि सम्बन्धित पक्षको ध्यान नगएकोमा हाम्रो पार्टीले त्यसको तीव्र विरोध र भर्त्सना गर्दछ ।’’
उनले अब त्यस प्रकारको दुर्घटना हुन नदिन सम्बन्धित क्षेत्रमा व्यापक सुधार र सुरक्षाको व्यवस्था मिलाउन समेत उनले सरकारसँग माग गरेका छन् ।उनले गत यही मंसिर २९ गते दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका-७ स्वाँरा ६ किलो भन्ने ठाउँमा दुर्घटना हुँदा १५ जना मानिसको मृत्यु भएको र १७ जना घाइते भएको खबर स्मरण गर्दै यो खबरले धेरै दुःख लागेको समेत जनाएका छन् ।
उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् । उनले मृतकका परिवार तथा मृत्युबाट दुःखी भएकाप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको उपचारको राम्रो व्यवस्था गर्न राज्यको सम्बन्धित निकायको विशेष ध्यानाकर्षण समेत गराएका छन् ।