Connect with us

संसदको हिउँदे अधिवेशन भोलिदेखि, पहिलो पटक उपसभामुखले संसद् सञ्चालन गर्ने

२०७६, ३ पुष बिहीबारमा प्रकाशित

काठमाडौं । संसदको हिउँदे अधिवेशन शुक्रबार (भोलि) देखि शुरु हुने भएको छ ।संसदको हिउँदे वा बर्खे अधिवेशन अन्त्य र शुरु नियमित प्रक्रिया हो तर यस पटक संसदको हिउँदे अधिवेशनले बढी नै चर्चा पाएको छ ।

प्रतिनिधिसभाका तात्कालीन सभामुख कृष्णबहादुर महरामाथि यौन दुव्र्यवहारको आरोप लागेर पुर्पक्षका लागि थुनामा गएपछि उपसभामुखले बैठक सञ्चालन गर्न मिल्ने नमिल्ने बहस भयो । यसअघि संसद् बैठक व्यवस्थापिका–संसद्को कार्य सञ्चालन) नियमावली अनुसार चल्दै आएको थियो ।

नियमावलीको नियम ६ (४) मा ‘सभामुखले प्रत्येक बैठकको प्रारम्भ तथा स्थगनको घोषणा गर्नेछ’ भनिएको छ । तर उपभासभामुख डा. शिवमाया तुम्बाहाम्फेले शुक्रबार शुरु हुने हिउँदे अधिवेशन संविधान अनुसार सञ्चालन गर्ने भएकी छिन् । उनले भनिन्, “संविधान अनुसार संसद् बैठक बस्छ, संविधानको धारा ९१ (४) त्यसैका लागि हो।”

संविधानको धारा ९१ को उपधारा ४ मा भनिएको छ, ‘प्रतिनिधिसभाको सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधिसभाको अध्यक्षता गर्नेछ ।’ गणतन्त्रपछि संविधान अनुसार उपसभामुखले बैठक संचालन गर्न लागेको पहिलो पटक हो ।

प्रतिनिधिसभाका सांसद विन्दा पाण्डेले भनिन्, “नियमावलीले उपसभामुखलाई बैठक सञ्चालन गर्न रोकेको पहिलेदेखि नै हो, तर त्यतिबेला सभामुख नभएको अवस्था थिएन, बरु सभामुखले नभ्याउने भए बैठक नै स्थगित गर्ने गरिएको थियो ।”

उपसभामुख तुम्बाहाम्फेले कतिपय पत्रकार र सञ्चारमाध्यमले संविधान नै नहेरी समाचार बनाउने गरेको भन्दै यस्ता कुरा लेख्नु अघि संविधान र कानून राम्ररी बुझेर मात्र समाचार लेख्न आग्रह गरिन् ।

उनी भन्छिन्, “मैले संविधान बमोजिम गरेका केही कामलाई पनि सञ्चारमाध्यमहरूले ‘उपसभामुखको विवादित काम’ भनेर लेखेका छन्, त्यो संविधानको व्यवस्था नबुझेर हो ।”

उपसभामुख डा तुम्बाहाम्फे भन्छिन्, “कार्यव्यवस्था परामर्श समितिको बैठक शुक्रबार नै बस्नेछ । बैठक दिउँसो ४ बजे बस्दैछ, त्यसअघि परामर्श समितिको बैठक बोलाउँछु ।”

प्रदेश नियमावली पनि उस्तै

संविधानसभा र यसअघिको प्रतिनिधि सभामा पनि कतिपय सांसदहरूले उपसभामुखले पनि बैठक शुरु र अन्त्य गर्न पाउने गरी नियमावली संशोधन गर्नुपर्ने आवाज उठाए । तर हालसम्म सो प्रावधान संशोधन भएको छैन ।

यही नियमावलीका कारण उपसभामुखले कहिल्यै पनि संसद बैठकको शुरु र अन्त्य गर्न पाउँदैनथे । बरु, सभामुख बिदा बस्दा वा विदेश भ्रमण जाँदा संसद बैठक नै स्थगित गर्ने अभ्यास हुँदै आएको थियो ।

राष्ट्रिय सभाले भने यो नियमावलीको प्रावधान संशोधन गरेर उपाध्यक्षले पनि बैठकको प्रारम्भ र अन्त्य गर्न सक्ने प्रावधान बनाइसकेको छ ।

राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले भनिन्, “उपाध्यक्ष भनेको त अध्यक्षले गर्ने काम गर्न पाउने नै पद हो तर नियमावलीमा रहेनछ, त्यसैले हामीले संशोधन गरेर बनायौं ।” नियमावलीमा त्यो प्रावधान राखेपछि उपाध्यक्ष दाहालले ५ चैतको बैठकको पहिलो पटक आफूले शुरु र अन्त्य गरेको बताइन् ।

प्रदेश सभाले बनाएको प्रदेशसभाको बैठक सञ्चालन गर्ने नियमावली पनि यस्तै छ । सबै प्रदेश र प्रतिनिधिसभाका उपसभामुख तथा राष्ट्रियसभाका उपाध्यक्षबीच केही महीना अघि काठमाडौंमा भएको संयुक्त छलफलमा पनि यो विषय उठेको थियो ।

प्रदेशका एक उपसभामुखले भनिन्, “नियमावलीको प्रावधान अनुसार संसदमा लामो बैठक हुँदा मात्रै सभामुखलाई पालो दिने सहयोगीको काम मात्रै हो हाम्रो ।” उनले भनिन्, “दिनभरि बैठक चल्दा सभामुखलाई थकाइ लाग्छ, ट्वाइलेट जानुपर्छ, त्यही बेला पालो दिने भूमिका मात्रै पाए जस्तो लाग्छ ।”

कतिपय प्रदेश उपसभामुखहरूले भने नियमावली संशोधनको प्रक्रियामा रहेको बताएका छन् । प्रदेश १ ले केही समय अघि उपसभामुखले बैठकको शुरु र अन्त्य गर्ने प्रावधान नियमावलीमा थप गरेको बताएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu