प्रदेशको राजधानी बुटवल उपयुक्त : कांग्रेस सचेतक खाँण
बुटवल ,पुस ९-
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक तथा पूर्व मन्त्री बालकृष्ण खाँणले प्रदेश सभालाई प्रदेशको स्थायी राजधानी बुटवल तोक्न आग्रह गरेका छन् ।उनले राजनीतिक, सांस्कृतिक र पर्यटकीय हिसाबले बुटवल नै स्थायी राजधानीका लागि उपयुक्त भएकाले कांग्रेस नेतृत्वको सरकारले अस्थायी राजधानी तोकेको बताए ।
बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुधवारदेखि शुरू भएको औद्यौगिक व्यापार मेलाको उद्घाटन गर्दै उनले प्रदेशको स्थायी राजधानी बुटवल नै हुने बताए ।
‘बुटवल राजधानी तोकिएकोमा कतिपयको चित्त बुझेको छैन तर यातायातको सुगम केन्द्र बुटवल, भैरहवा नै हो । बुटवलबाट राजधानी सार्ने प्रयत्न भए त्यसलाई थेग्न सक्नुहुन्न ?’ उनले भने ।
प्रदेशसभा स्थापना भएको २ वर्ष पुग्न लाग्दा समेत प्रदेशको राजधानी र नामाकरणको विषय अझै अन्योलमा छ । राजधानी तथा नामाकरण विशेष समितिले प्रदेश सभालाई प्रतिवेदन बुझाएको छ ।
भारतसँगको सहजता, अन्तर्राष्ट्रिय विमानस्थल जस्ता पूर्वाधारले बुटवल नै राजधानीका लागि उपयुक्त भएको उनले बताए । विश्वमा कुनै पनि राजधानी मध्यभागमै नभएको बताउँदै राजधानी सार्ने प्रपञ्च नगर्न उनको सुझाव छ ।
नेपाली कांग्रेसको सरकाले अस्थायी राजधानी तोकेको र यसलाइ स्थायी बनाउने अधिकार प्रदेश सभालाई भएकाले अविलम्ब राजधानी र नामाकरण गर्न उनको आग्रह गरे । ‘प्रदेश १, प्रदेश ६ र ७ को राजधानी पनि मध्यभागमा छैन,’ नेता खाणले भने । रूपन्देही र प्रदेश ५ कै नागरिकको भावना बुटवल राजधानी बनाउनुपर्ने मत रहेको उनले बताए ।