सोमालियामा कार बम विस्फोट : ३० को मृत्यु, १ सय घाइते
मोगादिसु : सोमालियाको राजधानी मोगादिसुमा कार बम विस्फोट हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ । अरु दर्जनौँ घाइते भएको बताइएको छ ।
कर संकलन केन्द्रलाई लक्षित गरी कार बम विस्फोट गराइएको प्रहरी र प्रत्यक्षदर्शीले जनाएका छन् । विस्फोटमा बालबालिका सहित १ सयजति मानिस घाइते भएको स्थानीय मिडियाले जनाएका छन् ।
उनीहरु सबैलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ । केही घाइतेको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्नसक्ने पनि बताइएको छ । प्रहरी अधिकृत इब्राहिम मोहमदले विस्फोट घातक थियो । ‘२० जना भन्दा धेरै मानिस मारिएकोमा म पक्का छु । मृतकको संख्या बढ्नसक्छ । २२ वटा शव त मैले नै गनेँ’ उनले भने ।
शनिबारको यो विस्फोटको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । १९९१ देखि द्वन्द्वमा रहेको सोमालियामा पछिल्लो समय विस्फोटका घटना बढ्दै छन् ।