बोलेरो पल्टिँदा एक जनाको मृत्यु
भोजपुर-भोजपुरको षडानन्द नगरपालिका-१० खोट डाँडामा बोलेरो पल्टिँदा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा बोलेरोका चालक धरान उप-महानगरपालिका-१६ का २७ वर्षीय फुर्वा तामाङ रहेको प्रहरीले जनाएको छ।सोमबार अपराह्न पौने ५ बजेको समयमा खोट डाँडाबाट धरानतर्फ सुन्तला बोकेर आउँदै गरेको को२च १७९२ नम्बरको बोलेरो आफैं अनियन्त्रित भएर बाटोदेखि करिब १५ मिटर तल खसेको थियो।
घाइतेलाई उपचारको लागि मनकामना अस्पताल तुम्लिङटार लगिएकोमा उपचारको क्रममा चालकको राति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।यस्तै, सुनसरीको बर्जु गाउँपालिका-१ का २६ वर्षीय जयराम मेहेताको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ।
सोमबार राति साढे ८ बजे चिमडीबाट शुक्रबारेतर्फ जाँदै गरेको को११प ८८७६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।