हुलाकी राजमार्ग विस्तारको बाटो खुला
धनगढी- कैलालीको वसन्ता वनक्षेत्रमा दुई किलोमिटरमा रोकिएको हुलाकी राजमार्ग विस्तारको बाटो खुला भएको छ ।
नेपाल सरकारको मन्त्रिपरिषद्ले रुख कटानको आदेश दिने निर्णय गरेपछि रोकिएको क्षेत्रमा राजमार्ग विस्तारको लागि मार्ग प्रशस्त भएको हो । कैलारी गाउँपालिका–५ को कटैनी नदीदेखि छटकपुर बसन्तासम्म पर्ने दुई किलोमिटर खण्डमा रुख कटानको आदेश नहुँदा चार वर्षदेखि काम रोकिएको थियो ।
कैलारीको कटैनी नदीदेखि भजनी नगरपालिकाको लालबोझीसम्म वसन्ता वनक्षेत्रमा जम्मा १८ मध्ये १६ किलोमिटरमा राजमार्ग निर्माण भइसकेको छ । तर, कानूनी अडचनका कारण दुई किलोमिटर खण्डमा भने काम रोकिएको थियो ।
सो खण्डमा राजमार्ग निर्माणका लागि २०७३ सालमै ठेक्का भए पनि काम अगाडि बढ्न सकेको थिएन । जिल्लाको अरु सबैतिर हुलाकी राजमार्ग बनिसक्दा सो खण्डमा ट्रयाकसमेत खोल्न सकिएको छैन ।
मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले रुख कटानको आदेश दिने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले जानकारी दिनुभयो । ‘मन्त्रीपरिषद्ले निर्णय गरिसकेकाले अब काम अगाडि बढ्छ’, उहाँले भन्नुभयो । यसैगरी, मन्त्रिपरिषद् बैठकले वन्यजन्तु ओहोरदोहोरका लागि ‘ओभरपास’ र ‘अण्डरपास’ पुल बनाउने निर्णय पनि गरेको छ ।
बसन्ता करिडोर वन्यजन्तुको पुरानो जैविकमार्ग रहेकाले राजमार्ग विस्तार गर्दा अण्डरपास र ओभरपास पुल हुनुपर्ने अडान राख्दै डिभिजन वन कार्यालयले रुख कटान आदेश प्राप्तिका लागि फाइल अगाडि बढाउन मानेको थिएन ।
वनले धेरै समयसम्म फाइल रोकेका कारण सडक निर्माणका लागि भएको ठेक्काको समय सकिनै लाग्दा बल्ल रुख कटानको आदेश मिलेको हो ।
हुलाकी राजमार्ग निर्माणको काम अगाडि बढ्न नसकेको दुई किलोमिटरमा एक सय वटा रुख रहेको छ । रुख कटानका लागि मन्त्रिपरिषद्ले निर्णय गरिसकेकाले अब डिभिजन वन कार्यालयसंग छलफल गरेर चाँडै काम अगाडि बढाउने हुलाकी राजमार्ग आयोजनाका इन्जिनीयर पदम मडैले बताउनुभयो ।
‘रुख कटान आदेशका लागि मन्त्रिपरिषद्ले निर्णय गरिसकेको खबर अनौपचारिक रुपमा हामीले पनि पाएका छौं’, उहाँले भन्नुभयो । ‘निर्णय भएको पत्र औपचारिक रुपमा आइपुगे लगत्तै काम अगाडि बढाउँछौं ।’ उहाँले डिभिजन वन कार्यालयसंग सल्लाह गरेर रुख कटानको कार्यलाई अगाडि बढाउने बताउनुभयो । दुई किलोमिटरमा सम्भवतः चालू आर्थिक वर्षभित्रै राजमार्ग विस्तारको कार्य पूरा हुने मडैले विश्वास व्यक्त गर्नुभयो ।
उक्त खण्डमा तुण्डी, प्रेरा, चन्द्रा एण्ड वसन्ता जेभीले राजमार्ग निर्माणको ठेक्का पाएका छन् । आउँदो जेठ मसान्तमा ठेक्का अवधि सकिने जनाइएको छ । तर, रुख कटान आदेशमा भएको ढिलाइका कारण ठेक्काको म्याद थप हुने मडैले बताउनुभयो ।
यसैगरी, वन्यजन्तुका ओहोरदोहोरका लागि ओभरपास र अण्डरपास पुल निर्माणका प्रक्रिया सडक डिभिजन कार्यालयले थाल्ने जनाइएको छ ।
कुन र कति ठाउँमा त्यस्ता पुल बनाउने भनेर निर्णय लिनका लागि विशेषज्ञ टोली नै आउने मडैले बताउनुभयो ।
कैलालीमा सन २०१० देखि हुलाकी राजमार्ग निर्माणको कार्य सुरु भएको थियो । एक दशक पूरा भइसके पनि निर्माण कार्य भने अझै पूरा हुन सकेको छैन ।