मर्दी हिमाल पदयात्रा सुरु
कास्की-नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं ट्रेकिङ इक्विपमेन्ट सप एसोसिएसन (टेसा) पोखराको आयोजनामा ‘मर्दी हिमाल पदयात्रा तथा पदयात्रा सामग्रीको प्रयोग एवं चिनारी’ विषयक पदयात्रा आजदेखि शुरु भएको छ ।
पछिल्ला वर्षमा पदयात्रा पर्यटनमा आकर्षक गन्तव्यका रूपमा परिचित मर्दी पदयात्रा मार्गमा पर्यटनसम्बद्ध व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र सञ्चारकर्मीसहितको ३० सदस्यीय टोलीले यही चैत ४ गतेसम्म चिनारी यात्रा शुरु गरेको हो ।
पोखराको डिहीको पाटनमा पदयात्रा शुभारम्भ कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, आन्तरिक पर्यटन पुनरुत्थान समिति पोखराका संयोजक अग्नि कँडेल, टेसा पोखराका अध्यक्ष नारायण सापकोटा, नेपाल पर्यटन बोर्ड पोखराका अधिकृत जय शक्ति सराफ, टेसा पोखराका सचिव टीकाबहादुर लम्साल लगायतले कार्यक्रमले पदयात्रा पर्यटनको प्रवद्र्धनका साथै पदयात्रा सामग्रीको चिनारी सम्बन्धमा महत्वपूर्ण उपलब्धि हासिल हुने धारणा राखे ।
कोरोनाका कारण लामो समयदेखि तहसनहस पदयात्रा पर्यटनलाई पुरानै लयमा फर्काउनका साथै पदयात्रामा प्रयोग गरिने सामग्रीको प्रयोगात्मक जानकारीसमेत गराउने लक्ष्यका साथ अवलोकन भ्रमण गराउन लागिएको कार्यक्रम संयोजक एवं टेसा पोखराका निवर्तमान अध्यक्ष रामचन्द्र गिरीले जानकारी दिनु भयो ।
उहाँका अनुसार चार दिने पदयात्राका क्रममा सहभागीले कास्कीको काँडेदेखि अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेष्ट क्याम्प, बादल डाँडा, मर्दी हाइ क्याम्प हुँदै भ्यु प्वाइन्टसम्म पदयात्रा गर्दै फर्कने छन् । हिउँले ढाकिएका हिमाल, वरपर देखिने हरिया वन जङ्गल, डाँडाकाँडा र बस्तीको एकसाथ दृश्यावलोकन मर्दी पदयात्राको विशिष्टता भएको उहाँले बताउनु भयो ।
पदयात्रा पर्यटनमा प्रयोग गरिने सामग्रीको बिक्री वितरणलाई प्रभावकारी बनाउने लक्ष्यका साथ पोखरामा २०५४ सालदेखि संस्थागत रूपमै टेसा क्रियाशील छ । पदयात्रा पर्यटनको प्रवद्र्धन र विकासमा महत्वपूर्ण योगदान गर्दै आएको टेसामा हाल विभिन्न ७५ व्यवसायी आबद्ध छन् ।