बिजुली निर्यात गर्न कार्यविधि ल्याउने तयारी
काठमाडौं-ऊर्जा मन्त्रालयले अन्तर्देशीय विद्युत ब्यापारका लागि कार्यविधि बनाउने भएको छ । नेपालमा खपत हुन नसकेर बढी भएको बिजुली लागि मन्त्रालयले एक कार्यदल नै बनाएर काम थालेको छ ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता मधु भेटवालका अनुसार केही समयअघि नै गठन भएको यो कार्यदल पछिल्ला दिनमा सक्रिय भएको छ । कार्यदलमा ऊर्जा मन्त्रालयसहित नेपाल विद्युत प्राधिकरण लगायतका निकायका अधिकारीहरु छन् ।
भारतले २६ फेब्रुअरी २०२१ (१४ फागुन २०७७) अन्तर्देशीय विद्युत् व्यापार कार्यविधि जारी गरेपछि नेपाल सरकारले पनि कार्यविधि तयार गर्न थालेको हो ।
भारतले नेपाललाई भारतसँग सरकारीस्तर तथा निजी क्रेता-बिक्रेताबीच द्विपक्षीय सम्झौता र बोलपत्रबाट विद्युत् व्यापार गर्ने बाटो खोलिदिएको छ । नेपालले पनि तीनवटै माध्यमबाट भारत र बंगलादेशमा अन्तर्देशीय विद्युत ब्यापार गर्न मिल्ने गरी कार्यविधि बनाउन लागेको हो ।
‘कार्यविधिमार्फत अन्तर्देशीय विद्युत ब्यापार गर्दा कुन काम, कुन निकायबाट, कसरी गर्ने भनेर प्रक्रियाहरु तय गरिनेछ,’ प्रवक्ता भेटवालले भने ।
यो कार्यविधिले आएपछि आगामी वर्षायाममा नेपालमा खेर जान सक्ने बिजुली भारतमा बिक्री गर्ने बाटो खुल्नेछ ।हाल नेपालको विद्युत उत्पादनको जडित क्षमता करिब १५ सय मेगावाट पुगेको छ । निजी क्षेत्रका आयोजनाबाट ७२८ मेगावाट विद्युत् उत्पादन हुन्छ । तामाकोसी जलविद्युत आयोजनाको समेत गरेर आर्थिक वर्ष २०७७/७८ मा करिब ८२५ मेगावाट बिजुली प्रणालीमा थपिने अनुमान छ । यी आयोजनाहरुले वर्षायाममा मात्र पूर्ण क्षमतामा बिजुली उत्पादन गर्छन् ।
नेपालको प्रणालीमा उच्चतम् लोड १४७५ मेगावाट रहेकाले वषर्ायाममा उत्पादन हुने सबै बिजुली देशभित्र खपत हुन सक्दैन । विद्युत प्राधिकरणले निर्माणाधीन आयोजनाबाट उत्पादन हुने करिब ३ हजार ३०० मेगावाट विद्युत पनि केही वर्षभित्र किन्नुपर्छ । छ हजार मेगावाट बराबरका आयोजनासँग प्राधिकरणले ‘लेऊ वा तिर’ (पीपीए मोडालिटी) मा सम्झौता गरेको छ ।
यो कारण वर्षयाममा बढी हुने विद्युत भारतलाई बेच्नु प्राधिकरणका लागि अनिवार्य छ । त्यसो हुन नसके अर्बौ रुपैयाँ क्षतिपूर्ति तिनुपर्ने अवस्था छ । गत वर्षायाममा नै रातिको समयमा २०० मेगावाटसम्म बिजुली खपत हुन नसकेर खेर गएको थियो ।
भारतले आफ्नो कार्यविधि ल्याइसकेकाले नेपाले पनि यस्तो कार्यविधि जारी गरेर यस्तो जोखिम टार्नेछ ।नेपाल विद्युत प्राधिकरणले भारतको नोडल एजेन्सी एनटीपीसी विद्युत ब्यापार निगम (एनभीभीएन)सँग आफ्नो बिजुली भारतको पावर एक्सचेन्ज मार्केटमा लैजाने गरी समझदारी गरिसकेको छ ।
सरकारले नेपाल विद्युत प्राधिकरणलाई भारत र बंगलादेशको पावर एक्सचेन्ज बजारमा नेपालमा खपत भएर बढी हुने बिजुली बेच्न अनुमति दिइसकेको छ ।
भारतमा भारतीय विद्युत एक्सचेन्ज (आईईएक्स) र पावर एक्सचेन्ज इन्डिया लिमिटेड (पीएक्सआईएल) गरी दुई वटा विद्युत ब्यापारको एक्सचेन्ज अनलाइन मार्केट छन् । यो मार्केटमा आफ्ना लागि आवश्यक हुने बिजुली अगि्रम बुक गर्न सकिन्छ ।
आफूलाई बढी हुने बिजुली बेच्न चाहानेले एक्सचेन्ज मार्केटमा बेच्नका लागि प्रस्ताव राख्छन् । यस्ता डे-अहेड वा टर्म अहेड बजारमा विदेशबाट आयातित बिजुली बेच्न भारतको अन्तरदेशीय विद्युत ब्यापार निर्देशिकाले बाटो खुला गरेको छ ।