दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण गर्न चिनियाँ विशेषज्ञ टोली आउँदै
दैलेख– दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम नतिजा विश्लेषण गर्नका लागि चिनियाँ विशेषज्ञ टोली पुनः दैलेख आउने भएको छ ।चैत्र १९ गतेसम्ममा टोली दैलेख आउने गरी जानकारी प्राप्त भएको खानी तथा भू–गर्भ विभाग काठमाडौँले जानकारी दिएको छ ।
अन्तिम ‘ड्रिलिङ’ लागि सडक यातायात उपयुक्त छ कि छैन अन्य पूर्वाधारको तयारी गर्न कतिको सहज वा असहज छ भन्दै टोली आउन लागेको खानी तथा भू गर्व विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले जानकारी दिनुभयो ।
अन्तिम सर्वेक्षणको लागि जमिनमुनि ४ किलोमिटरसम्म ‘ड्रिलिङ’ गर्नुपर्ने भएको र सोको सम्भाव्यता अध्ययनका लागि टोली नेपाल आउन थालेको हो ।
अन्तिम ‘ड्रिलिङ’ प्रतिवेदनका आधारमा दैलेखको कुन भू–भागमा कति परिमाणमा पेट्रोलियम पदार्थ छ भनेर टुङ्गो लाग्ने विभागले जनाएको छ ।पहिलो चरणमा दैलेखका करिब ३ हजार ३ सय स्थानमा ‘ड्रिलिङ’ कार्य सम्पन्न भइसकेको छ ।