लुम्बिनीमा अन्तराष्ट्रिय शान्ति केन्द्र बनाउने अभियानमा राजनैतिक दलका नेताहरुको सहभागिता
लुम्बिनी- बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माणाधीन महासिद्ध विश्व शान्ति बाटिका (सेन्चुरी फर युनिभर्सल पिस) निर्माणका लागि लुम्बिनी क्षेत्रका राजनैतिक दलका नेताहरुले प्रतिबद्धता ब्यक्त गरेका छन् ।
शनिबार लुम्बिनीमा मुठ्ठीदान स्वरुप एक रुपैयां दान गर्दै नेकपा एमालेका नेता तथा राष्ट्रिय सभामा प्रमुख सचेतक खिमलाल भट्टराइले लुम्बिनीको विकासकोलागि राजनैतिक क्षेत्रबाट एकताबद्ध प्रयास जारी रहने बताउनुभयो । उहांले महासिद्ध विश्व शान्ति बाटिका शान्तिको सन्देश प्रवाह गर्नमा महत्वपूर्ण केन्द्र हुने समेत बताउनुभयो ।
पुर्वमन्त्री तथा राप्रपाका नेता दीपक बोहराले संसारभरका अशान्त मनहरुलाई शान्त बनाउने महत्वपूर्ण वार्ता स्थलको रुपमा महासिद्ध विश्व शान्ति बाटिकाको उपयोग गर्न सकिने बताउनुभयो । उहांले लुम्बिनीको गरिमा विश्वशान्तिमा कायम राखिराख्न पनि महासिद्ध शान्ति बाटिकाको भूमिका उल्लेखनीय हुने बताउनुभयो ।
पुर्वमन्त्री तथा कांग्रेस नेता दीपकुमार उपाध्ययले संसारमा जति पैसा खर्चेर पनि नपाईने शान्ति लुम्बिनीमा पाईने बताउदैं ज्ञान र बुद्धिको संगमस्थलको रुपमा लुम्बिनीको विकास गर्नुपर्ने बताउनुभयो । उहांले पारदर्शिता सहित काम अगाडी बढाएमा सहयोग जुटाउन असम्भब नहुने बताउनुभयो । उपाध्ययले लुम्बिनीमा चालु गुरुयोजना छिट्टै सकाउनुपर्ने समेत बताउनुभयो । पुर्व पर्यटन तथा संस्कृति मन्त्री समेत रहनुभएको उपाध्ययले भन्नुभयो, “गुरुयोजनाको काम सधैं दुई बर्ष भित्र सक्ने भन्ने सुनिन्छ तर त्यो दुई बर्ष आउदैन कि क्या हो ? ”
पुर्वमन्त्री तथा जसपाका नेता वकिल मोहमद मुसलमानले लुम्बिनी भित्र स्थानियको प्रत्यक्ष सहभागिता हुनेगरी गरिने हरेक काम सहजै सफल हुने बताउनुभयो । नेपाली कांग्रेसका तर्फबाट लुम्बिनी प्रदेश प्रमुख सचेतक रहेका फकरुद्धिन खानले लुम्बिनी क्षेत्रमा रहेका मोनास्ट्रीहरु मध्ये महासिद्ध विश्व शान्ति बाटिकाले स्थानियको राय सल्लाहलाई सम्मान गरेको बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्य, पर्यटन व्यवसायी सुनिल शाक्य, पूर्व सचिव भक्त क्षेत्री लगायतले बोल्दै महासिद्ध विश्व शान्ति बाटिकाको एक रुपैयां डोनेशन अभियानमा सहयोग गर्न पाउदा खुसी लागेको बताउनुभयो ।
कार्यक्रममा विश्व वैंकको पूर्वि एशिया निर्देशक म्याडम लाडा स्ट्रेलकोभा, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमनि शाक्य, लुम्बिनी बौद्ध युनिभर्सटिका डिन माणिकरत्न शाक्य लगायतले पनि एक एक रुपैयां डोनेशन गर्नुभएको थियो ।
उक्त बाटिका निर्माणका लागि लुम्बिनीमा मुठ्ठीदान अभियानको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव इसाला रुवान विराकुनले गएको कार्तिकमा लुम्बिनीमै आई एक रुपैया डलर दान गरेर शुभारम्भ गर्नुभएको थियो ।
विश्वभरका शान्तिप्रीय आम समुदायको सहभागिता रहनेगरी बौद्धमार्गी र अनुयायीहरुलाई मुठ्ठीदान गरी महासिद्ध विश्व शान्ति बाटिकामा सबैको योगदानकोलागि एक रुपैयां डोनेशन अभियान थालिएको महासिद्ध सेन्चुरी फर युनिभर्सल पिसका संस्थापक स्याल्पा तेन्जिङ रिम्पुचेले बताउनुभयो ।
उहांले भन्नुभयो, ‘नेपालभर इ–सेवा र बाह्य मुलुकबाट पे–पल एपमार्फत् दान गर्न सकिनेगरि व्यवस्था मिलाएका छौं । मुठ्ठीदानबाट निर्माण हुने अन्तराष्ट्रिय महासिद्ध सेन्चुरी फर युनिभर्सल पिस सेन्टर विश्व द्वन्द्व व्यवस्थापनमा महत्वपूर्ण केन्द्र बन्नेछ । विश्वका हरेक द्वन्द्वरत पक्षको छलफल गर्ने केन्द्र बनाउनेछौं । ’
डब्लुडब्लुडब्लु डट पिसस्यान्चुरी डट ओआरजी मार्फत पनि मुठ्ठिीदान गर्नेगरी व्यवस्था गरिएको छ ।
अभियान अन्र्तगत नेपालबाट सुरु मुठ्ठीदान कार्यक्रम विश्वभर रहेका बुद्ध, हिन्दू, जैन, सिख गरेर ओमकार परिवारका सदस्यबाट एक रुपैयाँ दान लिइनेछ । केन्द्रभित्र बुद्धसँग सम्बन्धित विभिन्न पुस्तकको संग्रह गरी पुस्तकालय बनाइने छ । यस्तै ध्यानस्थल, सभाकक्ष, शान्तिवार्ता कक्षलगायत निर्माण गरिनेछ । केन्द्र अत्याधुनिक बन्ने निर्माणकर्ताले जनाएका छन् । बाटिकाको डिजाइन जर्मनमा गरिएको थियो । विश्वभरका शान्तिप्रेमी बौद्ध धर्मावलम्बीलगायत अन्य धर्म र संस्कृतिसँग सम्बन्धित साधकले समेत साधना गर्ने स्थलका रूपमा २ वर्ष अघिदेखि लुम्बिनीमा बाटिका निर्माण भइरहेको हो ।