राष्ट्रपति भण्डारी बङ्गलादेश जानुहुँदै
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने राजकीय भ्रमणका लागि बङ्गलादेश जानुहुने भएको छ । राष्ट्रपति भण्डारी आफ्ना बङ्गलादेशका समकक्षी मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत ९ र १० गते दुईदिने भ्रमणका क्रममा बङ्गलादेश जानुहुने भएको हो । उहाँका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्रसचिव भरतराज पौड्याल तथा अन्य उच्च अधिकारी जानुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु सेख मुजिबर रहमानको जन्म शताब्दी समारोहका सहभागी हुनुहुने कार्यक्रम तय भएको छ । त्यस अवसरमा उहाँले नेपाल–बङ्गलादेश सम्बन्ध तथा बङ्गबन्धुको जन्म शताब्दीमा आधारित रहेर सम्बोधन गर्नुहुने जनाइएको छ ।
भ्रमणका क्रममा उहाँले आफ्ना समकक्षी हमिदसँग छुट्टै द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । राष्ट्रपति हमिदले दिनुहुने राजकीय भोजमा पनि उहाँले सहभागिता जनाउनुहुनेछ । भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले बङ्गलादेशस्थित शहीद स्मृति पार्क तथा बङ्गबन्धु स्मृति सङ्ग्रहालयको पनि अवलोकन भ्रमण गर्नुहुनेछ । नेपाली सांस्कृतिक समूहले बङ्गबन्धुको जन्म शताब्दी समारोहका क्रममा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् ।
राष्ट्रपति भण्डारीले बङ्गलादेशस्थित नेपाली राजदूतावासको भ्रमण गर्नुका साथै बङ्गलादेशमा रहनुभएका नेपालीसँग भेट गर्नुहुनेछ । त्यस अवसरमा नेपालका तर्फबाट बङ्गलादेशका राजदूत डा. वंशीधर मिश्रले दिवाभोज आयोजना गर्नुहुनेछ ।