नवीन्द्रराज जोशीको परिवारले सरकारले दिने १० लाख रुपैयाँ नलिने
काठमाडौँ -बिरामी भएर काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको परिवारले सरकारले दिने १० लाख रुपैयाँ सहयोग नलिने घोषणा गरेको हो ।
नेता जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले जोशीको परिवारले उक्त रकम नलिने बताएको जानकारी दिनु भयो । उहाँले भन्नु भयो, ‘ उहाँको परिवारले सहयोग रकम नलिने घोषणा गर्नुभएको छ ।’
गत फागुन १४ गते मष्तिस्कघात भएपछि नेता जोशीलाई वीर अस्पताल हुँदै नर्भिकमा भर्ना गरिएको थियो । उहाँको अहिलेसम्म होस खुलेको छैन र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
चैत ६ गते जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले उपचारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नु भएको थियो ।