ललितानिवास प्रकरण : अझै अदालतमा उपस्थित भएनन् गच्छदार
काठमाडौं -ललितानिवास मुद्दाका आरोपित तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदार अहिलेसम्म विशेष अदालतमा उपस्थित हुनु भएको छैन । विशेष अदालतले पटकपटक म्याद तामेलीका लागि पठाउँदा पनि उनीलगायत ४६ जना अदालतमा उपस्थित हुनु भएको छैन ।
विशेष अदालतले सुनसरी जिल्ला अदालतलाई गच्छदारको घरमा म्याद तामेलीका लागि पठाएको थियो । अदालतले उपस्थितिका लागि उनको घरमा म्याद तामेली टाँसे पनि गच्छदार अदालत आउनु भएको छैन । उहाँलाई २०७७ फागुन २३ मा तेस्रो पटक म्याद पठाइएको थियो ।
ललितानिवास सरकारी जग्गा व्यक्तिको नाममा बनाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जनाविरुद्ध मुद्दा दर्ता गरेको एक वर्ष बढी भएको छ । एक वर्षसम्म आरोपित मध्ये जम्मा १ सय ३० जना अदालतमा उपस्थित जनाउनु भएको थियो । तीमध्ये ३ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीपकुमार बस्न्यात, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन शाखा अधिकृत कृष्णप्रसाद पौडेल र जग्गा खरिदबिक्रीकर्ता शोभकान्त ढकाललाई थुनामा पठाइएको हो । तीमध्ये पौडेल धरौटीमा थुनामुक्त भइसक्नु भएको छ ।आजको नागरिक दैनिकमा समाचार छ ।