लोकतन्त्र मास्ने खतरा बढेको छ :प्रचण्ड
काभ्रे-नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बर्तमान सरकारका कारण लोकतन्त्र नै धरापमा पर्ने खतरा भएको बताएका छन् ।
आज बुधबार धुलिखेलमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले २०६२÷०६३ पछिको परिवर्तनलाई नरुचाएको शक्तिले बर्तमान प्रधानमन्त्री केपी ओलीलाई प्रयोग गरेको उल्लेख गर्नुभयो ।
विस्तृत शान्ति प्रक्रियादेखि नै एउटा वर्गले यथास्थितिवादकै पक्षमा चलखेल गर्दै आएको जिकिर गर्दै प्रचण्डले संविधानसभाको निर्वाचन हुन नदिन, संविधानसभाबाट संविधान जारी हुन नदिन, कम्युनिस्ट पार्टीहरूबीच एकता हुन नदिन अनेक प्रयास गर्दै आएको बताउनुभयो ।संविधान जारी भयो, चुनाव भयो, झण्डै दुई तिहाइ बहुमत पनि ल्याइयो,’ उहाँले भन्नुभयो , जो पहिलादेखि षडयन्त्रमा थिए, हाम्रै पार्टीभित्रका साथीलाई दलाल बनाउन सफल भए ।
प्रतिनिधिसभा विघटनविरुद्धका रिटबारे फैसला गर्दै संवैधानिक इजलासले वर्तमान सरकारलाई संविधानको धारा ७६ को उपधारा १ अन्तर्गतको मानेको तर अर्को एक मुद्दामा त्यही अदालतको दुईजना न्यायाधीशको इजलासले यो सरकार धारा ७६ को उपधारा २ अन्तर्गतको बनाइदिएको भन्दै प्रचण्डले अस्वाभाविक ढंगले यी चिजहरू आएको बताउनुभयो ।
लामो संघर्ष र धेरै नेपालीको बलिदानपछि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको स्मरण गराउँदै उहाँले समावेशी, संघीयता, धर्मनिरपेक्षता यसको मौलिक पक्ष रहेको धारणा राख्नुभयो । नेपालको राजनीति एकपटक फेरि असहज परिस्थितिमा जाने खतरा देखिएको उहाँको भनाइ छ ।