चीनले उपलब्ध गराएको खोप नेपाल आइपुग्यो
काठमाडौं-चीन सरकारले अनुदानमा उपलब्ध गराएको ८ लाख डोज कोभिड विरुद्धको खोप काठमाडौं आइपुगेको छ । नेपाल एयर लाइन्सको विमानबाट बिहान आइपुगेको खोप नेपाललाई हस्तान्तरण गरिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गर्नुभयो ।
चीन सरकारले सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको सार्स कोभ–२ भाक्सिन (भेरोसेल) खोपको ८ लाख डोज नेपाललाई अनुदानमा दिएको हो । खोप प्राप्त गरेपछि स्वास्थ्यमन्त्री त्रिपाठीले कोभिडविरुद्धको लडाइँमा चीनले गरेको सहयोगप्रति धन्यवाद दिनुभएको छ ।
चीनबाट आएको उक्त खोप टेकुस्थित खोप भण्डारण केन्द्रमा लगेर राखिएको छ । यो खोप पनि कोभिसिल्ड जस्तै दुई मात्रामा लगाउनुपर्ने हुन्छ । यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले चीनले नेपाललाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउनुले दुई देश बीचको गहिरो मैत्री सम्बन्धलाई उजागर गरेको प्रतिक्रिया दिनुभएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले चीनले सहयोग गर्नुले दुई देशबीचको गहिरो मैत्री सम्बन्ध थप प्रगाढ बनेको बताउनुभएको हो ।
चीन सरकारद्वारा प्राप्त सहयोगले कोभिड–१९ महामारीको विरुद्ध प्रभावकारी ढंगले अगाडी बढ्नको निम्ति महत्वपूर्ण हुने पनि उहाँले बताउनुभयो । कोभिड १९ महामारीका विरुद्धको हाम्रो लगानी त्यसलाई सफलतापूर्वक अगाडी लैजानका लागि, अझ प्रभावकारी ढंगले अगाडी बढाउनको निम्ति यो एउटा महत्वपूर्ण सहयोगको रुपमा रहने प्रधानमन्त्रीको भनाइ छ ।