जनता सुखी भएको देख्न नचाहनेले सरकारमाथि आक्रमण गरे : राज्यमन्त्री मानन्धर
काठमाडौं – सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सर्वोच्च अदालतको आदेश पालना गरेर अघि बढे नेकपा एमाले थप बलियो बन्ने बताउनुभयो ।
बालाजु बाइपासमा निर्माणाधीन सूचना केन्द्रको शिलान्यास गर्दै मन्त्री मानन्धरले पार्टीभित्र देखिएको संक्रमण केही दिनभित्रै समाधान हुने दाबी पनि गरे। सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाई अलग(अलग पार्टीको मान्यता दिएकाले अब एमाले थप संगठित हुने बताउनुभयो ।
वरिष्ठ नेता नेपाल समूहतर्फ संकेत गर्दै अनावश्यक लफडाले आफैँलाई घात गर्ने मन्त्री मानन्धरको तर्क छ। तत्कालीन नेकपामा रहँदाको अवस्थाबाट आफूहरू एमाले भइसकेकाले अब पार्टीभित्र अन्तरकलह गर्ने नेताहरूलाई आवश्यक कारबाही हुने मन्त्री मानन्धरले बतानुभयो ।
नेकपा एमालेको नेतृत्वमा रहेको वर्तमान सरकारले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न लागिपरेको बताउँदै पार्टीभित्रबाट जनताको समृद्धिको सपनामाथि खेलबाडको प्रयास भइरहेको पनि मन्त्री मानन्धरको दाबी छ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गरेका जनपक्षीय काम देखेर अत्तालिएका सरकारविरुद्ध खनिएको मन्त्री मानन्धरको तर्क छ। सरकारले एकपछि अर्को जनपक्षीय कामहरू गरिरहेको बताउँदै जनताको सामाजिक सुरक्षा र आर्थिक हैसियत बढाउने सरकारको प्रयास रोक्न खोजिएको दाबी गर्नुु भयो ।
एमालेभित्रको समस्या समाधान गरेर राष्ट्रिय आकांक्षा पूरा गर्नेगरी प्रधानमन्त्री ओलीले काम गरिरहेको बताउँदै मन्त्री मानन्धरले संस्थागत पार्टी प्रणालीमा कसैको व्यक्तिगत चाहनाअनुसार पार्टी चल्न नसक्ने बताउनुभयो ।
आफ्नै पार्टीका केही नेताहरू सरकार र पार्टीविरोधी गतिविधिमा संलग्न रहेको बताउँदै मन्त्री मानन्धरले इतिहासले सबैलाई दण्डित गर्ने बताउनुभयो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले समृद्ध नेपाल निर्माणको अभियानमा काठमाडौं महानगरले आवश्यक काम गरिरहेको बताउनुभयो। करिब एक करोड लागतमा बालाजु बनेपास्थित काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको कित्ता नम्बर ९९ र १२५ को जग्गामा सुविधा सम्पन्न सार्वजनिक शौचालयसहितको सूचना केन्द्र निर्माण गरिँदै छ।