विजयनगरमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको भेला सम्पन्न
कपिलवस्तु-कपिलवस्तुको विजयनगर गाउँपालिकामा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन विजयनगर गाउँ समितिको आयोजनामा भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको आसन्न १३ औँ अधिवेशन विषयमा छलफल गर्न कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले शैक्षिक गुणस्तर अभिवृद्धि गर्न शिक्षकको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।अध्यक्ष थापाले शैक्षिक क्षेत्रमा गरेको लगानी खेर नजाने र शैक्षिक विकासले नै शिक्षित समाजको निर्माण हुने भन्दै गाउँपालिकाको शैक्षिक सुधारमा अाफू सदैव प्रतिबद्ध रहेको बताउनुभयो ।
यस्तै विशिष्ट अतिथि नेपाल राष्ट्रिय शिक्षक सङ्गठन प्रदेश समितिका सदस्य गोकर्ण पोख्रेलले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन विजयनगर गाउँसमितिमा शिक्षक संगठन अब्बल भएकाले शिक्षक संगठन गाउँ समितिले शिक्षकहरुको हक, हित र अधिकारप्रति सकरात्मक हुन अनुरोध गर्नुभयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन विजयनगर गाउँ समितिका अध्यक्ष शिवराज सुवेदीको अध्यक्षता ,विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाको प्रमुख आतिथ्यता,नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश सदस्य गोकर्ण पोख्रेलको विशिष्ट आतिथ्यता ,नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष रमेश पन्थी विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा कोषाध्यक्ष राम अवतार चौधरी ,शिवराज नगर कमिटी महिला उपाध्यक्ष शान्ति जि.सी. लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको अध्यक्ष शिवराज सुवेदीले बताउनुभयो ।