Connect with us
Kapilvast Forest

ध्रुवेको आक्रमणमा घाइतेको उपचारमा ध्यान दिन वनमन्त्रीको निर्देशन

२०७७, २१ चैत्र शनिबारमा प्रकाशित

 

काठमाडौं- वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले चितवनको गैँडा गणनामा ध्रुवे नाम गरेको जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएका कर्मचारी तथा गणकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ ।

मन्त्री आलेले शनिबार राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रमुख डा दीपककुमार खराललाई भेटगरी घाइते भएका कर्मचारीको उपचारमा कुनै पनि समस्या आउन नदिनका लागि पहल चाल्न निर्देशन दिनुभएको हो । गैँडा गणना कार्यमा निकै सजगता अपनाउनसमेत उहाँले सबैमा आग्रह गर्नुभएको छ ।

यसैगरी मन्त्री आलेले उक्त धु्रवे नाम गरेको जङ्गली हात्ती कुन ठाउँमा छ त्यसका बारेमा यकीन जानकारी लिएर तथा आफ्नो सुरक्षा व्यवस्था मजबुद बनाएर मात्रै गैँडा गणनाको कार्य अगाडि बढाउनसमेत निर्देशन दिनुभयो ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यबिन्दु नगरपालिका–२ नजिकै चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर क्षेत्रमा खटिएको टोलीलाई जङ्गली हात्तीले शुक्रबार लखेटेपछि हात्तीबाट खसेर पाँच जना घाइते भएका थिए ।

राष्ट्रिय निकुञ्जका प्रमुख डा खरालका अनुसार धु्रवे हात्तीले लखेटेर घाइते हुनेमा राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठ, माहुते सर्लाही जिल्ला हरिपुर नगरपालिका–७ का ४२ वर्षीय दीपेन्द्र चौधरी र रौतहट चन्दनपुर नगरपालिका–७ का ५१ वर्षीय पे्रमलाल कहार चौधरी रहेका छन् । घाइतेमध्ये राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी श्रेष्ठको अवस्था गम्भीर रहेको र उहाँको काठमाडौँस्थित हेम्स अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

जङ्गली हात्तीको आक्रमणमा परी गैँडा गणनामा गएका कर्मचारी घाइते भएपछि आज एक दिनका लागि सो क्षेत्रको गैँडा गणना कार्य रोकिएको प्रमुख डा खरालले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj