प्रदेश सभामा समिति सभापति न्यौपानेद्धारा पदमुक्त भएको भोलिपल्ट गाडी फिर्ता
बुटवल- लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपानेले संसदवाट पदमुक्त भएको भोलिपल्ट नै सुविधामा पाएको सरकारी गाडी फिर्ता गरेर नैतिकता प्रदर्शन गर्नु भएको छ । प्रदेश सभाको मंगलबारको बैठकमा न्यौपानेको सांसद पद रिक्त भएको जानकारी गराउनु भएको छ । दधिराम न्यौपाने रुपन्देही क्षेत्र नम्बर १ को २ बाट निर्वाचित प्रदेश सभा सदस्य हुनुन्थ्यो ।
सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि एमालेमा लागेका न्यौपाने र अर्का प्रदेश सभा सदस्य दिनेश पन्थीलाई माओवादीले कारवाही गरेको थियो । कारवाहीपछि प्रदेश सभा सदस्य नरहेका न्यौपानेले संसदीय समितिको सभापतिको हैसियतमा लिएको लु १ झ ४४९ नम्बरको गाडी र एउटा स्ट्यान्ड पंखा संसद सचिवालयलाई फिर्ता गर्नुभएको हो । सांसदबाट हटेपछि सरकारी सुविधा लिनु आवश्यक नभएको भन्दै उनले बुधबार बिहान १० बजे गाडीको साँचो संसद सचिवालयलाई हस्तान्तरण गर्नु भएको हो ।