सरकारी निर्णय अटेर गरी विद्यालय खोल्ने ११ सञ्चालक पक्राउ
सप्तरी- सरकारको निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने सप्तरीका ११ वटा निजी विद्यालयका सञ्चालकलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको छ ।
कोरोना संक्रमण फैलिन लाग्दा सरकारले सदरमुकाम राजविराजका विद्यालयहरु वैशाख मसान्तभरका लागि बन्द गर्न निर्देशन दिएको थियो । तर यो निर्देशनलाई अवज्ञा गर्दै विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार पटक–पटक सम्झाउँदा पनि विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।सोमबार बिहान प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी, राजविराज नगरपालिकाका प्रमुखसहितको टोलीले अटेर गर्ने विद्यालय सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणामा लिएकाहरुलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुविरुद्ध कस्तो कदम चाल्ने भन्ने विषयमा आजै हुने बैठकले निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो ।