पूर्वसांसद विदुर पौडेलको निधन
काठमाडौं-राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा विदुर पौडेलको मष्तिष्काघातका कारण ७७ वर्षका उमेरमा आज बिहान निधन भएको छ ।
यही वैशाख ११ गते कोभिडको पहिलो खोप लगाएपछि उहाँलाई मष्तिष्काघात भई उपचारका लागि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको भतिज रोहित पौडेलले राससलाई जानकारी दिनु भयो ।
शुक्रबार बेलुकी चिकित्सकले ठीक नहुने बताएपछि उहाँलाई पशुपति आर्यघाटमा लगिएको थियो ।नेपाली कांग्रेसको पूर्वकेन्द्रीय सदस्य, अधिकारसम्पन्न वाग्मती ढल व्यवस्थापन आयोजनाका पूर्वअध्यक्ष, पशुपति क्षेत्र विकास कोषका पूर्वसञ्चालक सदस्य पौडेल पछिल्लो समय भतिजा परमेश्वरका साथमा गुह्येश्वरीस्थित आफ्नै निवासमा बस्दै आएका थिए ।
अविवाहित पौडेल छ दाजुभाइमध्ये जेठा हुनुहुन्थ्यो । स्व पौडेलको आजै पशुपति आर्यघाटमा वैदिक विधिअनुसार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
सदाचारी एवं इमान्दार नेता पौडेलले लामो समय संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा प्राध्यापन गरेका थिए। प्राध्यापनपछि उनी राष्ट्रियसभाका सदस्य बन्नु भएको हो । सांसद हुँदा सुविधाका लागि गाडीका रूपमा प्राडो एवं पजेरो भित्र्याउन दिने सरकारी निर्णयको उहाँले विरोध गर्नु भएको थियो ।