कर्णालीमा अस्पताललाई ३४ करोड, सबै जिल्लामा अक्सिजन प्लान्ट बनाइने
सुर्खेत-कोरोना भाइरसको नयाँ भेरियन्ट तिब्र गतिमा फैलिएसँगै कर्णाली प्रदेशमा पनि दिनहुँ संक्रमितको संख्या बढिरहेको छ। पछिल्लो केही दिनयता कोरोनाकै कारण कर्णालीमा ज्यान गुमाउनेको संख्यामा पनि बढ्दै गएको छ।
अस्पतालहरुमा स्वास्थ्य संरचनाले थेग्न नसक्ने अवस्था आउन थालेको भन्दै चिकित्सकहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । कर्णाली प्रदेशमा पछिल्लो दुई हप्ताको कोरोना संक्रमणदर हेर्ने हो भने हालसम्मकै उच्च अवस्थामा रहेको छ । शुक्रबारसम्म प्रदेशभर संक्रमितको संख्या एक हजार तीनसय ९३ जना पुगेका स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।
निर्देशनालयका अनुसार हालसम्म कर्णालीमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या एक हजार तीन सय ९३ जना रहेको छ । तीमध्ये झण्डै आठ सय संक्रमित सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मात्र छन् । वीरेन्द्रनगरका सातसय ४७ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
सुर्खेतकै गुर्भाकोट नगरपालिकाको होम आइसोलेसनमा १० जना र बाँकी संक्रमित प्रदेश अस्पतालमा उपचाररत छन् । जुम्लामा नौ जना, दैलेखमा एकसय १२ जना, कालिकोटमा ५१, जाजरकोटमा ९५, सल्यानमा दुईसय २१ जना, रुकुमपश्चिममा ९८ जना र डोल्पामा पाँच जना संक्रमित छन् ।
हुम्ला र मुगु भने कोरोना मुक्त जिल्ला रहेका छन् । संक्रमित संख्या बढेसँगै कोरोना अस्पतालहरू पनि भरिन थालेका छन् । जसमा जटिल प्रकृतिका संक्रमित धेरै रहेका छन्। संक्रमितको चाप बढेपछि प्रदेश अस्पताल सुर्खेतमा क्षमताभन्दा बढी संक्रमित राख्नुपरेको छ । हाल प्रदेश अस्पतालमा ३६ जना संक्रमित छन् । सबै संक्रमितलाई अक्सिजन अनिवार्य छ ।
उसो त कुनै पनि अस्पतालले जटिल प्रकृति बाहेकका संक्रमितहरुलाई अस्पताल भर्ना लिने गरेको छैन । अस्पतालमा बिरामीको चाप थेग्नसक्ने क्षमता नभएपछि सामान्य संक्रमितलाई होम आइसोलसनमा बस्न आग्रह गरिएको छ ।
प्रदेशमा संक्रमण बढेपनि कोरोनालाई जित्ने दर भने निकै न्यून छ । हालसम्म कोरोना जितेर घर फर्कनेको जम्मा संख्या ७ हजार ५ सय ६१ जना रहेका छन् । संक्रमितको तुलनामा मृत्युदर पनि उच्च छ । कोरोनाको दोस्रो लहर सुरु भएयता कर्णाली प्रदेशमा १६ जनाको मृत्यु भइसकेको छ ।
हाल सम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ । प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकलपर्सन डा. केएन पौडेलका अनुसार मृतकमध्ये अधिकांश ज्येष्ठ नागरिक छन् ।
‘मृतक अधिकांशको मुख्य कारण स्वासप्रश्वास प्रणालीमा समस्या हो । केहीलाई निमोनियासमेत भएको देखिएको थियो । मृतकको तथ्याङ्क र संक्रमणलाई नियाल्दा कोरोनाबाट ज्येष्ठ नागरिक सबैभन्दा बढी जोखिममा छन् ।’
सबै १० जिल्लामा अक्सिजन प्लान्ट
कर्णाली प्रदेश सरकारले कर्णालीका १० ओटै जिल्लामा अक्सिजन प्लान्ट बनाउने घोषणासमेत गरेको छ । प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत र जुम्लामा ठूला क्षमताका र अन्य जिल्लामा मिनी अक्सिजन प्लान्ट सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । त्यस्तै अन्य जिल्लामा अक्सिजन प्लान्ट सञ्चालनका लागि भने मिनी अक्सिजन प्लान्ट निर्माण गरिने भएको छ ।
अक्सिजन प्लान्ट निर्माणका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले हरेक जिल्ला अस्पताललाई ४०÷४० लाखका दरले रकम उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।
हाल कर्णालीका १० जिल्लामध्ये हुम्ला, जुम्ला र सुर्खेतमा अक्सिजन प्लान्टहरु रहेका छन् । त्यस्तै प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सबैभन्दा ठूला अक्सिजन प्लान्टहरु रहेका छन् । तर जुम्लामा मात्रै अक्सिजन उत्पादन भइरहेको छ ।
जुम्लाको अक्सिजन प्लान्टले दैनिक १० वटा सिलिन्डरसम्म अक्सिजन उत्पादन गर्न सक्छ । यस्तै प्रदेश अस्पतालको पुरानो प्लान्ट बिग्रिएको छ भने नयाँ निर्माणको अन्तिम चरणमा रहेको अस्पतालले जनाएको छ ।
जटिल प्रकृतिका संक्रमित बढेसँगै कर्णालीले हाल नेपालगञ्जबाट दैनिक एक सय ५० सिलिन्डर अक्सिजन आपूर्ति गर्दै आएको छ । यस्तै प्रदेश सरकारले कोरोनाको लागि प्रभावकारी मानिने रेमडेसिभिर औषधि गरिब तथा ज्येष्ठ नागरिकलाई निःशुल्क उपलब्ध गराउने भएको छ ।