Connect with us
Kapilvast Forest

महामारीमा पनि चर्को ब्याज असुल्दै एनआईसी एसिया बैंक

२०७८, २१ बैशाख मंगलवारमा प्रकाशित

nic

काठमाडौं – एनआईसी एसिया बैंकले कोरोना महामारीका बेलामा पनि ऋणीबाट निकै चर्को ब्याज असुल गरेको पाइएको छ । लघुवित्तले अत्यधिक ब्याजदर लिने गरेको भन्दै आलोचना हुँदै गरेको छ ।

तर, एनआईसी एसिया बैंकले कोरोना महामारीकै बेला पनि लघुवित्त भन्दा पनि चर्को ब्याज असुल गर्ने पाइएको हो । बैंकले घर कर्जामा करिब १६ प्रतिशत ब्याजदर लिने गरेको पाइएको छ । सवारी साधनका लागि लगानी भएको कर्जामा पनि बैंकले करिब १५ प्रतिशत ब्याजदर लिने गरेको पाइएको छ ।

 

नेपाल राष्ट्र बैंकको निर्देशनको समेत धज्जी उडाउँदै बैंकले आफ्नो पुराना ऋणीलाई २०७८ सालदेखि ब्याजदर बढेको भन्दै पत्र काटेको छ । ‘मैले एनआईसी एसिया बैंकको विराटनगर शाखाबाट घर कर्जा लिएको थिएँ, ब्याजदर बढेको भनेर चिठ्ठी आएछ’ बैंकका एक ग्राहकले भने, ‘खोलेर हेर्दा १५।७० प्रतिशत पुगेको देखेर म त अचम्ममा परो ।’

कोरोना कतिपय बैंकहरुले आधार दर वा आधार दरमा थोरै प्रतिशतमात्रै प्रिमियम जोडेर ऋण लगानी गर्ने गरेका छन् । त्यस्तो प्रमियम दर समान्यतया बैंकहरूले २ प्रतिशत लिने गरेका छन् । एनआईसी एसिया बैंकको चैत मसान्तसम्म आधार दर ६।७७ प्रतिशत रहेको छ । आधारदरमा ९ प्रतिशत भन्दा धेरै प्रिमियम जोडेर बैंकले ब्याजदर बढेको भन्दै पत्राचार गरेको छ ।

बैंकको ब्याजदर बढ्ने मूख्य कारक नै आधार दर हो । एनआईसी एसिया बैंकको अघिल्लो वर्षको चैत मसान्तमा आधार दर ९।६१ थियो । अर्थात् पहिलेभन्दा अहिले आधार दर घटेको छ । आधार दर घट्दा ब्याजदर पनि घट्नुपर्नेमा अझ अस्वभाविक रुपले बढाएर ऋणीसँग ब्याज असुल उपर गर्ने गरेको हो ।

अहिले लघुवित्तहरुले नै १४ देखि १५ प्रतिशतसम्म ब्याजदरमा ऋण लगानी गर्ने गरेका छन् । महामारीको मौका छोपी ‘क’ वर्गको एनआईसी एसिया बैंकले भने यतिधेरै ब्याजदर असुलेर आफूलाई तनाब दिएको ती ऋणी बताउँछन् ।

पीडित भन्छन्- न्यायका लागि प्रधानमन्त्रीसम्म पुग्छौं

एनआईसी एसिया बैंकको विराटनगर शाखाबाट मात्रै धेरै जना ऋणीलाई अति महँगो ब्याजदर लिने गरेको पाइएको छ । सम्पर्कमा आएका केहिले आफ्नो नाम खुलाउन चाहेका छैनन् ।

विराटनगर शाखाबाटै घर कर्जा लिएका दिनेश सुवेदीले भने आफूलाई बैंकले अन्याय गरेको बताए । उनलाई पनि बैंकले घर कर्जामा करिब १६ प्रतिशतसम्म ब्याजदर पुगेको भन्दै चिठी थमाएको छ । यो कुरो बाहिर आएपछि बैंकले ब्याजदर घटाउने आश्वासन समेत दिएको उनले बताए । तर, अहिलेसम्म कार्यान्वयन भने नभएको उनको गुनासो छ ।

‘म मात्रै होइन म जस्ता पीडित धेरै हुनुहुन्छ, मैले बोले पछि अरु धेरै जनाले बोल्छु भन्नु भएको छ’ सुवेदी भन्छन् ।

बैंकले अति नै अन्याय गरेको भन्दै उनले न्यायका लागि नेपाल राष्ट्र बैंकदेखि प्रधानमन्त्री कार्यालयसम्म जाने योजना बनाएको सुनाए । यस्तो महामारीका बेला पनि अत्यधिक चर्को ब्याजदर लिएर तनाव दिएको भन्दै उनले कारवाहीका लागि सरकारलाई गुहार्ने बताए । ‘हामी केही दिनमै राष्ट्र बैंकसँग मात्रै होइन, कारबाहीका लागि प्रधानमन्त्री कार्यालयसम्मै पुग्छौं, यो हाम्रो विवसता हो’ उनले भने ।

बैंक के भन्छ त ?

बैंकको विराटनगर शाखाका प्रमुख सञ्जिवकुमार दाहालले आफ्नो ऋणीलाई ब्याजदर बढेको भनेर पत्राचार गरेको स्वीकार गरे । तर, कोरोना महामारीका कारण आफू अहिले बिदामा रहेको बताएका उनले थप कुरा भने गर्न मानेनन् ।

‘कुन ग्राहकको हो के हो ? म अहिले विदामा छु, पछि अफिस गएपछि मात्रै हेर्न सकिन्छ’ उनले छोटो जवाफ फर्काए ।

नेपाल राष्ट्र बैंकमा भने यसको गुनसो पुगिसकेको छैन । वाणिज्य बैंकले १६ प्रतिशतसम्म ब्याजदर लिनु अचाक्ली नै भएको उनले बताए ।

‘त्यत्रो अचाक्ली त नहुनु पर्ने हो, तर यत्तिकै अहिले बोल्न सक्ने कुरा भएन’ राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले भने, ‘पहिले के हो सत्यतथ्य कुरा हेर्नु पर्छ, हामीकहाँ उजुरी पर्‍यो भने हामी आवश्यक कारवाही अघि बढाइहाल्छौं ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu