प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी
काठमाडौं – विशेष अधिवेशनमार्फत विश्वासको मत लिन संसदमा जाने प्रधानमत्री केपी शर्मा ओलीको कदमपछि विपक्षी दलहरुबीच फेरि अविश्वासको प्रस्ताव दर्ताको बहस सुरु भएको छ ।
स्रोतका अनुसार सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आगामी रणनीतिबारे सम्वाद भएको थियो । मंगलबार कांग्रेस पदाधिकारीहरुको बैठक बस्यो भने माओवादी नेताहरुले राजधानीमा उपलब्ध स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेको छ ।
कांग्रेस सभापति देउवा निवास वूढानीलकण्ठमा बसेको पदाधिकारीहरुको बैठकमा ओलीको सम्भावित कदम र त्यसलाई कसरी रोक्ने भन्ने विषयमा छलफल भएको थियो ।
बैठकमा नेताहरुले प्रधानमन्त्रीले ओलीले विश्वासको मत लिने योजनाका साथ विशेष अधिवेशन नरोजेको दाबी गर्नु भएको छ । ‘विश्वासको मत लिन चाहेको भए त नियमित अधिवेशनमै लिइहाल्थे’ बैठकमा सहभागी एक नेता भन्नु भयो , ‘विश्वासको मत नलिने, संविधानको धारा ७६(३) अनुसार अल्पमतको सरकार बनाउने र त्यसले पनि विश्वासको मत नपाएपछि संसद भंग गर्ने, मध्यावधि घोषणा गर्ने र अध्यादेशमार्फत बजेट ल्याउन खोजेको देखिन्छ ।’
त्यसरी घोषणा हुने चुनाव हुन्छ कि हुन्न भन्नेमा नेताहरूको बुझाइ फरक छ । चुनावमा प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुने भएकाले लुम्बिनी र गण्डकीमा अल्पमतमा पर्दा पनि सरकारमा टिकिराख्न ओलीले बल गरेको कतिपय नेताहरूको बुझाइ छ । कतिपयले चाहिँ स्वास्थ्य संकटकाल लगाएर चुनाव नगर्ने र अध्यादेशमार्फत देश चलाउने निरंकुश बाटोमा प्रधानमन्त्री ओली हिँड्न चाहेको बताउनु भयो । यस्तो मत राख्नेमध्येका एक नेता भन्नु भयो , ‘यसलाई रोक्न प्रधानमन्त्रीलाई विश्वासको मत नदिएर मात्र पुग्दैन, भोलि बैकल्पिक सरकार गठनको बाटो खुला राख्न अविश्वास प्रस्ताव दर्ता गरिराख्नुपर्छ ।’
बैठकले विश्वासको मत लिन आउँदा प्रधानमन्त्रीलाई फेल गराउन पहल गर्ने निर्णय गरेको छ । त्यसका लागि दलहरुवीच सल्लाह हुने भन्दै कांग्रेस सहमहामन्त्री डा- प्रकाशशरण महतले भन्नु भयो , विश्वासको मतलाई फेल गराउने पहिलो लक्ष्य हो ।’ त्यसपछि बैकल्पिक सरकारको बाटो खुल्ने उहाँले सुनाउनु भयो ।
माओवादी केन्द्रका एक नेताका अनुसार नयाँ सरकार गठनका लागि बाटो खुला राख्न अहिले नै अविश्वासको प्रस्ताव दर्ता गरिराख्न कांग्रेस नेताहरुसँग छलफल भइरहेको छ ।
उनीहरुकाअनुसार अविश्वासको प्रस्ताव दर्ता गरिराख्दा प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएको अवस्थामा अल्पमतको सरकार गठनलाई रोक्न सकिन्छ ।
किनकी नेकपा एमालेमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिने नयाँ बिकल्पमा छलफल चलिरहेको छ । उनीहरुले राजीनामा दिएको अवस्थामा जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले साथ दिँदा पनि प्रधानमन्त्री ओलीले २७ फागुनमा विश्वासको मत पाउन सक्दैनन् ।
त्यो बेलामा प्राधनमन्त्रीले संसद अधिवेशन अन्त्य गर्ने लगायतका बाटो रोज्न सक्ने कांग्रेस र माओवादी नेताहरुको विश्लेषण छ । अहिले नै कांग्रेस, माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई उपेन्द्र यादव पक्षका सांसदहरुको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिराक्ने हो भने नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दाबी गर्न सहज हुने नेताहरुको दाबी छ ।
ओलीलाई सत्ताच्यूत गर्न हरसम्भव उपाय अपनाउन तयार भएका बिपक्षी दलहरुले ओलीले चाल्नसक्ने सम्भावित कदमलाई रोक्न अश्विासको प्रस्तावा सबैभन्दा बलियो हतियार हुने ठानेका छन् ।
तर कांग्रेस सभापति देउवाले अविश्वासको प्रस्ताव दर्ता गर्ने नगर्ने केही निर्णय दिइसकेको छैनन् । अविश्वास प्रस्तावका लागि देउवालाई मनाउन माओवादी अध्यक्ष प्रचण्ड र जसापाको उपेन्द्र–बाबुराम पक्षले दुई महिनादेखि कोसिस गरिरहे पनि अहिलेसम्म देउवाले आफुलाई बैकल्पिक प्रधानमन्त्रीका रुपमा अघि सार्न हिम्मत गरिरहेका छैनन् ।