समाजवाद स्थापनाको बाटोमा लामबद्ध हुनु अहिलेको आवश्यकता: प्रचण्ड
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली मोडेलको समाजवाद स्थापनाको बाटोमा लामबद्ध हुनु अहिलेको आवश्यकता भएको बताउनु भएको छ ।
विश्व सर्वहारा–श्रमजीवी वर्गका महान् गुरु कार्ल मार्क्सको २०३ औं जन्मदिनका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले भन्नु भयो , कार्ल मार्क्सले आविष्कार गर्नुभएको वैज्ञानिक समाजवादको या द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको अनुसन्धान विश्व मानव समुदायका लागि गतिलो वैचारिक हतियार बनेको कुरा सिद्ध भइसकेको छ।
मार्क्सले प्रतिपादन गरेका मार्क्सवादभन्दा अगाडि शासक वर्गलाई श्रमजीवीमाथि शासन गर्ने अधिकार प्राप्त छ र श्रमजीवी वर्ग शासित हुन बाध्य हुन्छ भन्ने मान्यता स्थापित भएको उहाँले बताउनु भएको छ।
मानव समाजले सृष्टि गरेका कुनै पनि सकारात्मक उपलब्धिको प्रमुख हकदार भनेको श्रमजीवी वर्गको हो भन्ने मान्यता कार्ल मार्क्सले अगाडि सारेको उल्लेख गर्नु भएको छ ।
उहाँले भन्नु भएको छ । नेपाली भूमिमा मार्क्सवादलाई लागू गर्ने र त्यसलाई विकास गर्ने सन्दर्भमा धेरै संघर्षहरू भएका छन्। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान सोही संघर्षको एक उपलब्धिका रूपमा लिन सकिन्छ। वर्तमान संविधानले निर्देश गरेको नेपाली मोडेलको समाजवाद स्थापनाको बाटोमा लामबद्ध हुनु अहिलेको आवश्यकता हो।
प्रतिगामी प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्दै समाजवादको बाटोमा अग्रसर हुन प्रतिगमन विरोधी सम्पूर्ण शक्तिहरुलाई ऐक्यवद्धताका लागि आव्हान समेत गर्नु भएको छ ।