विश्वासको मत प्रकरण :जे परिस्थिति आउँछ, त्यही निर्णय गर्ने
काठमाडौं -स्वाव दिन आएका एमाले माधवकुमार नेपाल–झलनाथ खनाल समूहका सांसदहरू अनौपचारिक बैठकको निस्कर्ष रह्यो, ‘जे परिस्थिति आउँछ, त्यही निर्णय गर्ने ।’ स्वाव दिएपछि उहाँहरुले बुधबार अनौपचारिक छलफल गर्नु भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली समूहको बैशाख १० र १२ गतेको बैठकबाट असन्तुष्ट समूहलाई निकाल्ने योजना बनाएको निस्कर्ष छ । भेलामा सहभागी एक सांसदका अनुसार, सरकारले विश्वास मत लिँदा ‘फ्लोर क्रस’ गरेमा सजिलै निकाल्ने र ‘फ्लोर क्रस’ नगरेको खण्डमा विश्वास मत लिएपछि निकाल्ने योजना बनाएको बताउनु भएको छ ।
‘उहाँहरूले हामीलाई जसरी पनि निकाल्ने सूचना त्यहीबाट प्राप्त भएको छ’ नेपाल समूहका एक नेताले भने, ‘हामी पनि जुन परिस्थिति आउँछ, त्यही अनुरुप निर्णय लिनेछौं । तर, हामी ओलीलाई कुनै पनि हालतमा सरकारमा रहन दिन्नौ । सामूहिक राजीनामा समेत आउन सक्छ ।’
नेपाल समूहका २० जना सांसदले राजीनामा दिएको खण्डमा कांग्रेस–माओवादी र जसपाको एउटा समूह संलग्नतामा सरकार बन्न सक्ने आँकलन तिनको छ । अर्को सरकार बन्ने शर्तमा सामूहिक राजीनामाको तहसम्म पुग्ने योजना तिनले बनाएका छन् ।
असन्तुष्ट सांसदको अनौपचारिक भेलापछि नेता विरोध खतिवडाले भन्नु भयो , ‘जे आइपर्छ, त्यो हामी बेहोर्न तयार छौं । हामीसँग अनेकन विकल्प छन् । यदि ओली पछि फर्कन्छन् भने कुनै समस्या छैन । हाम्रो उद्देश्य पार्टी बलियो बनाउने हो ।’
ओलीले गोप्य बैठक गरी आफूहरुलाई निस्काशन गर्ने निर्णय लिइसकेको उल्लेख गर्दै खतिवडाले भन्नु भयो त्यसकारण उनीहरुबाट जस्तो व्यवहार हुन्छ, यताबाट पनि त्यस्तै व्यवहार हुन्छ । त्यही तयारीमा हामी छौँ ।’
उता नेकपा एमाले कि नेतृ रामकुमारी झाक्रीले आफू डुब्ने भएपछि अरुलाई पनि डुबाउने बताउनु भएको छ । उहाँले सामाजिक सञ्जालमार्फत् डुब्नबाट बच्ने भए किनारा खोज्न सुझाव दिनु भएको छ । उहाँले एमाले अध्यक्ष केपी ओलीतर्फ संकेत गर्दै दम्भ, अहंकार र जिद्दी छोड्न पनि चेतावनी दिनु भएको छ ।