फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट आफूले विशवासको मत पाउन नसके फेरि प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने संकेत गर्नु भएको छ ।कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुसँग् बुधबार भएको छलफलमा ओलीले निर्वाचनमा मिलेर जान प्रस्तावसमेत गर्नु भएको छ ।कांग्रेसले विश्वासको प्रस्ताव असफल बनाउने निर्णय गरेकै भोलिपल्ट बुधबार ओली सहयोगीहरुका साथ देउवा निवास बूढानीलकण्ठ पुग्नु भएको थियो ।
उहाँले लामो पृष्ठभूमिका साथ आफूले संसदबाट विश्वासको मत नपाए निर्वाचनमा जाने परिस्थिति बन्ने उल्लेख गरेको कांग्रेसका एक नेताले बताउनु भयो ।
प्रधानमन्त्री ओलीले केही समयअघि देउवासँग आगामी असोज वा मंसिरभित्र निर्वाचन हुने गरी अघि बढ्ने बताउँदै त्यसका लागि सहयोगको आग्रह गर्नु भएको थियो
निर्वाचन गराउने ओलीको भनाइमा विश्वस्त बन्दै देउवाले पनि सरकार बनाउनेतिर चासो दिनु भएको थिएन । उहाँको प्राथमिकता यतिबेला प्रधानमन्त्री बन्ने भन्दा पनि निर्वाचनमा जानेमा छ ।ओलीले आफ्नो विकल्पमा बहुमतको सरकार बन्ने अवस्थासमेत नभएको बताउनु भएको छ ।
‘मैले संसदबाट विश्वासको मत पाउन सकिन भने निर्वाचनमा जाने परिस्थिति आउन सक्छ । त्यतिबेला मिलेर जाँदा फाइदा हुने तपाईहरुलाइ नै हो’, ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । कान्तिपुर