सुदूरपश्चिम र लुम्बिनीमा अक्सिजनको चरम अभाव स् कोरोना संक्रमित छटपटिँदै
काठमाडौं- कोभिडको दोस्रो लहरको सबैभन्दा बढी संकट व्यहोरिरहेका लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा अक्सिजनको चरम अभाव हुन थालेको छ । अक्सिजन अभावले दुई प्रदेशका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितको ज्यान जोखिममा परेको चिकित्सकले बताएका छन् ।
अस्पतालहरूमा अक्सिजन र शैया नपाएर बिरामीहरू छटपटाउनुपर्ने अवस्था आएको छ । कोरोना संक्रमित र शंकास्पद बिरामीले यहाँका अस्पताल भरिभराउ छन् । कुनै पनि अस्पतालमा पर्याप्त अक्सिजन छैन । बिरामीका आफन्तहरू अक्सिजनको खोजीमा भौँतारिरहेका छन् । भर्ना भएका संक्रमित र शंकास्पद बिरामीलाई अक्सिजन उपलब्ध गराउन नसक्ने अवस्था आएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। हेमराज पाण्डेयले बताउनु भयो । अक्सिजनको आपूर्ति तत्काल हुन नसके स्थिति भयावह हुने उहाँको भनाइ छ ।
शुक्रबार धनगढीका कुनै पनि अस्पतालमा पर्याप्त अक्सिजन छैन । अधिकांश अस्पतालमा रहेका संक्रमित अक्सिजन अभावमा छटपटाइरहेका छन् । शरीरमा अक्सिजनको मात्रा कम भएपछि आफन्तलाई धनगढीको एक निजी अस्पतालमा भर्ना गरेका गोदावरी नगरपालिकाका कृष्णराज भट्टले धनगढीका कुनै पनि अस्पतालमा अक्सिजन पाउन नसकेको गुनासो गरे । अक्सिजनको कमीले बिरामीको अवस्था बिग्रँदै गएको उहाँले बताउनु भयो । ‘शरीरमा अक्सिजनको मात्रा ८० मा झरेको छ । अस्पतालले अक्सिजन छैन, खोजेर ल्याऊ भन्छ,’ भट्टले भन्नु भयो , ‘दिनभर धेरै ठाउँ खोज्ने प्रयास गर्यौँ, कहीँ पनि पाइएन ।’
बिहीबार राति हावाहुरीले विद्युत् आपूर्ति बन्द भएपछि धनगढीमा रहेको मालिका अक्सिजन उद्योगमा राति उत्पादन बन्द हुँदा धनगढीमा अभाव झन् चर्किएको हो । बिहानबाट सुचारु भए पनि उद्योगले यहाँको माग धान्न सक्ने अवस्था छैन । सेती प्रादेशिक अस्पतालमा पनि शुक्रबार कतिपय बिरामीले अक्सिजन पाएनन् । अक्सिजनको पर्याप्त आपूर्ति भर्ना भएकै बिरामीलाई दिन नसकिएको मेसु पाण्डेयले बताउनु भयो। आपूर्ति सहज नभएपछि अक्सिजन सपोर्ट दिइरहेका बिरामीलाई समेत बन्द गर्नुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ । ‘भर्ना भएर नियमित दिँदै आएका बिरामीलाई समेत अक्सिजन दिन सकिएको छैन,’ पाण्डेयले भन्नु भयो , ‘नयाँ भर्ना हुने बिरामीलाई त तत्काल अक्सिजन उपलब्ध गराउन सकिने अवस्था नै छैन ।’नयाँ पत्रिका