कोरोनाबाट उद्योगपति सोनीको निधन
काठमाडौं-कोरोना संक्रमणबाट धरानका उद्योगपति रोशन सोनीको निधन भएको छ । विराट मेडिकल शिक्षण अस्पतालमा उपचारका क्रममा उहाँको गएराति निधन भएको हो ।
सुनसरी उद्योग वाणिज्य संघका सल्लाहकारसमेत रहेका धरान–३ निवासी सोनी पछिल्लो समय आन्द्रामा समस्या भएर उपचारका लागि भारतको दिल्ली जानु भएको थियो ।
दिल्लीमा अप्रेसन गरेर उहाँ घर फर्किनु भएको थियो । सोही क्रममा पीसीआर जाँच गर्दा उहाँलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उहाँलाई उपचारका लागि एक साताअघि मोरङको विराट मेडिकल शिक्षण अस्पताल लगिएको थियो ।सोनीले धरानको तीनकुनेमा सूर्य कत्था उद्योग र टरपेन्टाइन खोटोको उद्योग र पेट्रोल पम्पसमेत सञ्चालन गर्दै आउनु भएको थियो ।
उहाँको निधनमा प्रदेश १ का उद्योगमन्त्री जगदीश प्रसाद कुशियतले श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । उहाँले सफल उद्योगपति सोनिको निधनले आफु स्तब्ध भएको बताउनु भएको छ ।