ह्विप उल्लंघन गरे पनि ओली पक्षले कारबाही नगर्ने
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली पक्षले ह्विप उल्लंघन गर्ने पार्टीका सांसदलाई तत्काल कुनै कारबाही नगर्ने नीति अख्तियार गर्ने भएको छ । तत्काल कारबाही गर्दा विपक्षी गठबन्धनतिर बहुमत पुग्ने र पार्टी एकताको ढोका पनि बन्द गर्ने निष्कर्षसहित त्यस्तो नीति अख्तियार गरिएको ओली समूहका एक स्थायी कमिटी सदस्यले बताउनु भयो ।
मतदानमा नेपाल पक्षका २८ सांसदको उपस्थित रहेको थिएन । उहाँहरूलाई कारबाही नहुँदा ओलीकै नेतृत्वमा सरकार बनाउँदा ३० दिनभित्र विश्वासको मत हासिल गर्न पनि सजिलो हुने संस्थापन पक्षको आकलन छ । त्यसो त, प्रमुख सचेतक विशाल भट्टराईले अनुपस्थित हुने नेपाल समूहका सांसदहरूलाई कारबाही हुने कि नहुने विषय प्रस्ट खुलाउन चाहनु भएन ।
‘संसद्को इतिहासमा यो कलंकको दिन हो । पार्टीको ह्विप उल्लंघन गर्ने कामले पार्टीलाई नै क्षति पु¥याएको छ । यसबारे पार्टीमा छलफल हुन्छ,’ भट्टराईले भन्नु भयो ।