भेन्टिलेटर खाली नहुँदा अस्पताल पुगेर पनि बँच्न सकेनन् संक्रमित
वीरगञ्ज – वीरगञ्जमा एक कोरोना संक्रमितले अस्पताल पुगेर पनि भेन्टिलेटर नहुँदा ज्यान गुमाउनु परेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ३ बजनीका ६८ वर्षीय पुरुष समयमा नै अस्पताल पुगेपनि भेन्टिलेटर खाली नहुँदा उनले ज्यान गुमाउनु परेको हो ।
ती संंक्रमितको बिहान साढे ६ बजे नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा ज्यान गएको अस्पतालका चिकित्सक ओम प्रकाश कुशवाहाले जानकारी दिनुभयो ‘अक्सिजनको सपोर्टमा थिए, स्थिति खराब हुँदै गइरहेको थियो।’ उहाँले भन्नुभयो भेन्टिलेटर खाली नभएकोले राख्न पाएनौं, उहाँलाई बचाउन सकिएन ।’ श्वासप्रश्वासमा समस्या देखिएपछि वैशाख १७ गते उहाँ असपतालमा भर्ना हुनुभएको थियो ।
योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा २ जना र नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा एक जनाको मृत्यु भएको हो । नेशनल मेडिकल कलेजमा ७८ जना कोरोना संक्रमित र १५ जना शंकास्पद संक्रमित उपचारत छन् । संक्रमित सबैलाई अक्सिजन दिएर राखिएको छ । २० वटा आईसियुमा रहेका संक्रमितमध्ये १० जना भेन्टिलेटरमा छन् ।
बाराको प्रसौनी गाउँपालिका–२ का ५७ वर्षीय पुरुषको मंगलबार राति साढे १० बजे नारायणी अस्पतालमा मृत्यु भएको छ । वैशाख २० गते भर्ना भएका उहाँको सोही दिन गरिएको एन्टीजीन परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।
नारायणी अस्पतालमै पर्साको छिपहरमाई गाउँपालिका–५ का ७२ वर्षीय पुरुषको पनि मृत्यु भएको कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । वैशाख २३ गते भर्ना भएका उनको बुधबार बिहान साढे १ बजे मृत्यु भएको उहाँले बताउनुु भयो ।
कोभिड निमोनियाका कारण दुवै फोक्सोले काम नगर्दा बिरामीको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरुले बताउनुभयो ।
कोरोना संक्रमणको दोस्रो लहरमा वीरगञ्जमा १ सय १४ जनाको मृत्यु भइसकेको छ ।