कोभिडविरुद्ध खटेका जनशक्तिबाहेक राज्यबाट सुबिधा लिने सबैको सुविधा रोकौँ :भट्टराई
कमठमाडौं-नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सांसद योगेशकुमार भट्टराईले मुलुकका शीर्ष दलहरुबीच बृहत्त र ठोस सहमति कायम गरी राष्ट्रको मिसन नै कोभिड–१९ विरुद्ध रहेको सन्देश दिनुपर्ने बताउनु भएको छ ।
बिहीबार एक विज्ञप्ती प्रकाशित गरी उहाँले २०७२ सालको महाभूकम्प पछि जसरी राजनीतिक बिमतिलाई थाँती राखेर सरकार र राजनीतिक नेतृत्वले सहमतिमा काम गर्यो, अहिलेको अवस्थामा त्यस्तै घटनाक्रमको आवश्यकता रहेको औंल्याउनु भएको छ । उहाँले कोभिडविरुद्धको लडाइँमा खटेको जनशक्ति बाहेक राज्यबाट पारिश्रमिक लिने अरु सबैको सुबिधा हाललाई स्थगन गर्न समेत सरकारको ध्यानाकर्षण गर्नु भएको छ ।
सम्पूर्ण जनशक्तिलाई कोभिडविरुद्धको लडाइँमा केन्द्रित गर्ने र छिटो प्रकृयाबाट थप जनशक्ति भर्ना गर्नुपर्ने उहाँको सुझाव छ। ४ बुँदे सुझाव राख्दै उहाँले तुलनात्मक रुपमा चीनमा कोभिडको असर कम हुँदै गएकोले अघिल्लो वर्ष इटाली लगायतका युरोपेली मुलुकमा जसरी चीनले कोभिडविरुद्ध स्वास्थ्य सामग्री र जनशक्ति सहयोग गरेको थियो, अहिले नेपाललले पनि चीनसंग कोभिडविरुद्ध स्वास्थ्य सामग्री र जनशक्ति सहयोग माग गर्न ढिला गर्न नहुने बताउनु भएको छ ।
भारत र अन्य देशका सरकारहरुलाइ पनि नेपालको कोरोनाविरुद्धको लडाइँमा साथ र सहयोग दिन नेपाल सरकारले अनुरोध गर्नुपर्ने समेत भट्टराईले बताउनु भएको छ ।